४० दिनमा ११५ थान भरुवा बन्दुक बरामद

बुधबार, २१ माघ २०८२

बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४० दिनको अवधिमा अवैध रूपमा राखिएका ११५ थान भरुवा बन्दुक बरामद गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन तथा वन–जङ्गल क्षेत्रमा बढ्दो चोरी–सिकारी नियन्त्रणलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट यति ठूलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ थान भरुवा बन्दुक बरामद भएका छन्।

ढोरपाटन सिकार आरक्ष आसपासका क्षेत्र, विभिन्न सामुदायिक वनमा चोरी–सिकारी बढ्दै गएको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा भरुवा बन्दुक दुरुपयोग हुने जोखिम देखिएपछि इजाजतपत्रबिनै लुकाइछिपाइ राखिएका बन्दुक सङ्कलन गरी बरामद गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइबाट गरिएको नियमित गस्ती र स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखिएका अवस्थामा अवैध भरुवा बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ।

“केही समयदेखि अवैध हातहतियार सङ्कलन र बरामद गर्ने अभियान सञ्चालन गर्दै आएका छौँ। सबै प्रहरी युनिटबाट खटिएका प्रहरीले यी हतियार नियन्त्रणमा लिएका हुन्,” प्रहरी उपरीक्षक भारतीले भने, “चुनावलाई लक्षित गर्दै लाइसेन्सवाला हतियारसमेत प्रहरीमा बुझाउन आग्रह गरेका छौँ।”

बरामद गरिएका अधिकांश भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएका र चल्ने अवस्थामै रहेको पाइएको प्रहरीले जनाएको छ। कानुनअनुसार इजाजतपत्रबिनै भरुवा बन्दुक राख्ने वा प्रयोग गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार