सुनसरी : नेकपा एमालेका सुनसरीका जिल्ला सचिव राम कोइरालाले महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भए पनि पार्टीभित्र नेतृत्वप्रति विश्वास झन् मजबुत बनेको बताएका छन्।
प्रदेश खबरसँगको कुराकानीमा कोइरालाले अहिले ईश्वर पोखरेलको प्यानलबाट सुनसरीका ५–६ जना प्रतिनिधि जितेर गए पनि “महाधिवेशन हलमा पुगेपछि सबैजना केपी शर्मा ओलीकै जयजयकार गर्दै फर्किने” दाबी गरे।
कोइरालाले प्रतिनिधि बन्ने लक्ष्य लिएर कुनै दौडधुप नगरेको, कसैलाई भोट मागेर पनि नहिँडेको तर पनि ८७७ मत पाउनु आफैँमा ठुलो सन्तोष भएको बताए। “जित–हार त प्राविधिक कुरा हो। पार्टी एकताको भावना ठुलो हो,” उनले भने।
उनले आउँदो महाधिवेशनमा पनि “ओली नै पार्टी अध्यक्ष हुने १ हजार प्रतिशत निश्चित” रहेको दाबी गरे।
सुनसरीबाट एमाले महाधिवेशनका लागि ११ हजार ५ सयभन्दा बढी मतदाता रहेकामा यसपटक २५ जना प्रतिनिधि मात्र छनोट भएका छन्।
कोइरालाका अनुसार स्थानीय प्रतिस्पर्धा जे भए पनि महाधिवेशनको ठुलो मञ्चमा नेताहरूको अन्तिम एकता र ओलीप्रतिको भरोसा थप बलियो भएर देखिनेछ।
प्रतिक्रिया