माटोको उर्वरा शक्तिमा ह्रास, कोशी प्रदेशमा वर्षेनी कृषि उत्पादनमा कमी

शुक्रबार, १९ मंसिर २०८२
फाइल फोटो

इटहरी : रासायनिक मलको बढ्दो प्रयोग लगायतका कारण पूर्वी नेपालमा माटोमा अम्लीयपन बढेका कारण बर्सेनि उत्पादनमा ह्रास आउन थालेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले कोशी प्रदेशका जिल्लाहरूमा गरेको माटोको परीक्षणमा ८५ दशमलव ५ प्रतिशत माटोमा अम्लीय जनाइएको हो । 

माटोमा अम्लीयपन बढ्दा क्रमिक रूपमा उत्पादनमा ह्रास आउन थालेको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका सहायक माटोविद् सन्तोष कटेलले जानकारी गराए । माटोविद् कटेलले कोशी प्रदेशमा धानबाली उत्पादनमा बिस्तारै ह्रास आइरहेको र अन्य बालीहरूमा माटोका कारण उत्पादनमा ह्रास आउन थालेको किसानहरूले नै अनुभव गर्न थालिसकेका जानकारी गराए । 

 माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले घुम्ती प्रयोगशाला, किटबक्स र प्रयोगशालामा पि.एच., प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटास र माटोको बनोट लगायतको परीक्षण गरेको थियो । कोशी प्रदेशका सबै जिल्लाहरूलाई समेटेर ९ हजार ७ सय १२ वटा माटोको नमुनाको परीक्षण गर्दा  ८५.५ प्रतिशत माटो अम्लीय, १३.१ प्रतिशत माटो तटस्थ र १.४ प्रतिशत माटो क्षारीय प्रकारको पाइएको समेत जनाइएको छ ।

माटो प्रयोगशाला झुम्काले गरेको माटोको परीक्षणमा सबै भन्दा बढी सोलुखुम्बुमा ९७.३ प्रतिशत , ताप्लेजुङमा माटोमा ९६ प्रतिशत , सङ्खुवासभामा ९५ प्रतिशत , झापा ९३.३ प्रतिशत मोरगंमा ७७.७ सुनसरीमा ६८.७ प्रतिशत , उदयपुरमा ८३.९ खोटागंमा ७८ं८ प्रतिशत ओखलढुगां ७५.८ प्रतिशत पाँचथर ७८ं५ प्रतिशत , इलाममा ६३.६ र तेह्रथुममा ८५.४ प्रतिशत माटोमा अम्लीयपन पाइएको छ ।  

कोशी प्रदेशका १३ जिल्लामा ७ हजार १ सय ६६ वटा माटोको नमुनामा प्राङगारिक पदार्थ विश्लेषण गर्दा  ५०.८ प्रतिशत माटोमा कम, ३३.९ प्रतिशत माटोमा मध्यम र १५.३ प्रतिशत माटोमा अधिक पाइएको थियो। कोशी प्रदेशका १४ जिल्लाको ८७३२ वटा माटोको नमुनाको नाईट्रोजन विश्लेषण गरिएकोमा ४५.९ प्रतिशत माटोमा कम, ३२.८ प्रतिशत माटोमा मध्यम र २१.३ प्रतिशत माटोमा अधिक पाइएको थियो। त्यसै गरी प्रदेशका १४ वटै जिल्लामा ८ हजार ७ सय एउटा माटोको नमुनामा फस्फोरसको विश्लेषण गर्दा ४२.९ प्रतिशत माटोमा कम, १९.१ प्रतिशत माटोमा मध्यम र ३८ प्रतिशत माटोमा अधिक रहेको पाइएको प्रयोगशाला झुम्काले जनाएको छ ।

त्यसैगरी कोशी प्रदेशका १४ जिल्लाको ८ हजार ७ सय एउटा माटोको नमुनामा  पोटासको विश्लेषण गर्दा  २३ प्रतिशत माटोमा कम, ३४.२ प्रतिशत माटोमा मध्यम र ४२.८ प्रतिशत माटोमा अधिक पाइएको थियो। माटोको लागि आवश्यक पर्ने तत्त्वहरूलाई विश्लेषण गर्दा कुनै चाहिने भन्दा धेरै र कुनै कम भएका कारण बर्सेनि पूर्वी नेपालमा माटोको उर्वरा शक्तिमा ह्रास  आउँदा कृषि उत्पादनलाई समेत प्रभावित पार्दै आएको छ । 

माटोको परीक्षणका आधारमा आएको रिपोटलाई विश्लेषण गर्दा माटो तथा कृषिविज्ञहरु चिन्तित बन्न थालेको छन । कृषि उत्पादनका दृष्टिकोणले मुलुकको ठुलो हिस्सा ओगट्ने पूर्वी नेपालमा देखिएको माटोका अवस्थालाई लिएर विज्ञहरू चिन्तित बन्न थालेका हुन ।  त्यसैलाई आधार बनाएर माटोको उर्वरा शक्ति बढाउन खेती गर्ने जमिनमा कृषि चुन प्रयोग गर्न विज्ञहरूले सुझाव दिँदै आएका छन । यही क्रममा आज विश्व माटो दिवसको अवसर पारेर माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले माटो परीक्षण गरिएको मोरगंको रतुवामाई नगरपालिकामा ७२ जना कृषकहरूलाई कृषि चुना वितरण गरेको छ । 

प्रतिक्रिया

कृष्ण भट्टराई जुनेली
लेखकको बारेमा
कृष्ण भट्टराई जुनेली

सम्बन्धित समाचार