कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव

विहीबार, २२ माघ २०८२

काठमाडौं । नेकपा माओवादीका महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरुको संगठनात्मक ढाँचा हेर्दा पार्टीको कुनै मूल्य मान्यता पनि नभइ केवल मान्छे थुपार्ने र चुनाव जित्नको लागि प्रयास गर्ने जस्तो मात्रै देखिएको बताएका छन। विप्लवले त्यो एकता खास एकता जस्तो पनि छैन, त्यसैले हामीले हतार गरेनौं । विषयहरूलाई राम्रोसँग पार लगाएर मात्र एकता गरौँ भन्ने आफुहरुको मान्यता रहेको विप्लवले बताएका हुन। 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाव’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त रहेको छ । यही क्रममा विप्लवले माओवादीले गत माघ ६ गतेपछि चुनावी गतिविधि औपचारिक रुपमा सुरु गरेको समेत जनाएका छन । 

विप्लवले भने, ‘हामीले प्रचारप्रसार, जनपरिचालन र हाम्रा विषय तथा प्रस्तावहरू जनतामा सम्प्रेषण गर्ने काम सुरु गरिसकेका छौँ। यो निर्वाचनलाई हामीले केवल चुनावका रूपमा मात्र होइन, जनताका मुद्दा उठाउने माध्यमका रूपमा लिएका छौँ।’

सडक आन्दोलन, वैचारिक संघर्ष र वैकल्पिक राजनीतिक धारबाट चिनिएका विप्लव संसदीय व्यवस्थाप्रति कडारुपले आलोचना गर्दै आइरहेका थिए । लामो समयदेखि संसदीय प्रणालीको आलोचना गर्दै आएको माओवादी अहिले निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण स्पष्ट पार्दै ‘संसदीय व्यवस्था सही छ भनेर स्वीकार गर्दै पार्टी निर्वाचनमा गएको होइन,’ ‘हामीले संसदीय व्यवस्था गलत छ र यसलाई जनताको व्यवस्थामा बदल्नको लागि संसदबाट जनताका मागहरू, मुद्दाहरू उठाउनका लागि हामी सहभागी बन्दैछौँ।’ विप्लवले थपे । 

निर्वाचन घोषणापत्र लगभग तयार भइसकेको र हाल अध्ययन तथा अन्तिम छलफलको चरणमा रहेको उनले बताए । घोषणापत्रमा शासकीय स्वरूप, प्रतिनिधिसभाको भूमिका, आर्थिक प्रणाली, समाज र राज्यको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय समेटिएको उनले जानकारी दिए ।

विप्लवले भने, ‘खासगरी शासकीय स्वरूप अनि प्रतिनिधि सभाको विशेषता, आर्थिक प्रणाली, समाज, राज्य, त्यसको अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यावरण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै विषयहरूलाई त्यहाँ समेटेर प्रस्तुत गरेका छौँ ।’ माओवादीको मुख्य उद्देश्य संसदीय व्यवस्थालाई सुधार मात्र होइन, समाजवादी व्यवस्थामा रूपान्तरण गर्नु रहेको विप्लवले स्पष्ट पारे ।

प्रचण्डले नेतृत्व गरिरहेका पार्टी बीच एकता हुने–नहुने विषयमा चलेका चर्चाबारे पनि विप्लवले खुलेर बोले ।उनका अनुसार केही सैद्धान्तिक र वैचारिक विषय नमिलेका कारण तत्काल एकता सम्भव नभएको हो । नेपाली कम्युनिष्ट पार्टीसँग एकतागर्ने सन्दर्भमा प्रारम्भमा भएका छलफलहरु र एजेन्डाबारे प्रचण्ड पछि हटेपछि अहिले एकता हुन नसकेको सुनाए । ‘माक्र्सवाद, लेनिनवाद, माओवाद, आर्थिक नीति, जीवनशैली, संस्कार, आन्दोलनको शैली र संगठनात्मक प्रणालीजस्ता विषयमा हाम्रो मत मिलेन,’ विप्लवले भने।

विप्लवले अहिलेको कम्युनिस्ट अभ्यासलाई ‘चुनाव जित्न मान्छे थुपार्ने’ मात्र भएको आरोप पनि लगाए । उनले एकताको विषय नसकिए पनि अहिले तुरुन्तै यो चुनावसम्म सम्भव नभएको बताए । 

वर्तमान सरकारको कार्यशैलीप्रति महासचिव विप्लवले कडा टिप्पणी गरे। ‘नेपालमा सरकार छ कि छैन भन्ने जस्तो अवस्था छ । एकप्रकारले यो कुसको पण्डित जस्तो हो । जनताले सरकार भएको अनुभूति नै गरेका छैनन्,’ विप्लवले थपे । उनले निष्पक्ष निर्वाचन हुने–नहुने विषयमा पनि नागरिकमा गहिरो चिन्ता रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार