दुईपटकको सूचनामा पनि उपकुलपतिका लागि परेन आवेदन

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुईपटक सूचना गर्दा समेत कुनै पनि उमेदवारको दरखास्त पर्न सकेको छैन ।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेको थियो ।

उक्त समयमा आवेदन नपरेपछि समयावधी मंसिर ५ गतेसम्मका लागि बढाइएको थियो । तर, सो समयमा पनि कसैको निवेदन पर्न सकेन ।

“उपकुलपति पदको दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक आह्वान गरेका छन्, “अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।”

संघीय संसद्बाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार