काठमाडौँ : फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुममा विवाद चर्किएको छ।
पार्टी केन्द्रले जिल्लाको सिफारिस र स्थापित प्रक्रिया बेवास्ता गर्दै उम्मेदवार तय गरेको आरोप लगाउँदै जिल्ला कार्यसमिति तथा सबै पालिका कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
जिल्ला कार्यसमितिले सुरेन्द्र कार्कीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको भए पनि केन्द्रीय समितिले ऋतुराज लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि बढेको हो।
सो निर्णयपछि जिल्ला र पालिका तहका नेतृत्वहरूले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै सामूहिक राजीनामा बुझाएका छन्।
राजीनामा दिने पदाधिकारीहरूको दाबी अनुसार पार्टीले आफैँ पारित गरेको उम्मेदवार छनोट प्रक्रिया विपरीत जिल्ला र प्रदेश समितिको भावना मिचेर अमूक व्यक्तिलाई टिकट दिइँदा पार्टीको विधि र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ।
सामूहिक राजीनामा बुझाउनेहरूमा जिल्ला कार्यसमिति सभापति सुमन खत्री, गणेश खापुङ (संयोजक), म्याङ्लुङ नगरपालिकाका सभापति सुमन लिम्बू, लालीगुराँस नगरपालिकाका संयोजक छात्रबहादुर थापा, मेन्छ्यायेम गाउँपालिकाका सचिव विष्णु एस. कटुवाल, छथर गाउँपालिकाका संयोजक लक्ष्मण थापा लगायत फेदाप गाउँपालिकाका प्रमुख नेतृत्वहरू रहेका छन्।
तेह्रथुम क्षेत्रमा उम्मेदवारका रूपमा क्षेत्री समुदायबाट दाबी रहेको उल्लेख गर्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रको निर्णयले स्थानीय भावना बेवास्ता गरेको आरोप लगाएको छ।
प्रतिक्रिया