झापा । झापास्थित नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले अघिल्लो आर्थिक वर्षमा राजस्व संकलनदेखि सेवा सुधार र पूर्वाधार विकाससम्म उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले एक अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भयो, जुन अघिल्लो वर्षको तुलनामा करिब ९६ करोड रुपैयाँ बढी हो।
बिर्तामोड, अर्जुनधारा, मेचीनगरका ११–१४ वडाहरू, शिवसताक्षी–१ र २, बाह्रदशी, झापा गाउँपालिका, इलामको रोङ–२ तथा माई–५ का केही क्षेत्रलाई सेवा प्रदान गर्दै आएको यस केन्द्रका हाल कुल ग्राहक संख्या एक लाख नाघेको वितरण केन्द्र प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिए। तीमध्ये १ हजार ३१७ औद्योगिक, ८४९ व्यापारिक, ९७ हजार ९३ घरेलु तथा १५ हजार ९८० अन्य वर्गका ग्राहक रहेका छन्।
प्राधिकरणले तोकेको लक्ष्यअनुसार विद्युत् चुहावट घटाउन केन्द्रले विशेष अभियान सञ्चालन गरेको थियो। अघिल्लो वर्ष १२ प्रतिशत रहेको चुहावट दर घटेर १०.५६ प्रतिशतमा झरेको प्रमुख शाहले बताए। चुहावट नियन्त्रणका क्रममा अनधिकृत रूपमा विद्युत् प्रयोग गर्ने ५८ जनामाथि कानुनी कारबाहीसमेत गरिएको केन्द्रले जनाएको छ।
ग्राहक क्षेत्रमा कायम रहेर आएको भोल्टेज समस्यालाई समाधान गर्न चार नयाँ फिडर निर्माण गरी सञ्चालनमा ल्याइएको छ। घैलाडुब्बादेखि लालमाटीसम्म औद्योगिक फिडर तथा गोलधाप र दुर्गापुर ११ केभी फिडर चार्ज भएपछि गरामनी–कन्काई क्षेत्रमा लोड व्यवस्थापन सहज बनेको केन्द्रको दाबी छ।
अनारमनी १३२/३३/११ केभी सबस्टेशनअन्तर्गतका सबै फिडर अत्याधुनिक उपकरणले सुसज्जित गरिएका छन्। हाल वितरण क्षेत्रमा ५६५ ट्रान्सफर्मर सञ्चालनमा छन्, जसमा ३४ वटा ५० केभीएका, ३६८ वटा १०० केभीएका, १४१ वटा २०० केभीएका तथा २२ वटा ३०० केभीएका ट्रान्सफर्मर रहेका छन्।
सेवा सहज र सुगम बनाउन केन्द्रले फ्री–वाइफाइ जोन, उजुरी पेटिका, महिला मैत्री शौचालय, सीसी क्यामेरा, तातो–चिसो खानेपानी, एसीयुक्त सेवा कक्ष, टोकन सिस्टम तथा शिशुस्याहार कक्षसमेत स्थापना गरेको छ। साथै कर्मचारी तथा स्थानीयको सहयोगमा १८ लाख रुपैयाँ लागतमा कार्यालय परिसरमै विश्वकर्मा बाबा मन्दिर निर्माण गरिएको छ।
वितरण केन्द्र प्रमुख सञ्जीवकुमार शाहको नेतृत्वमा केवल चुहावट नियन्त्रण मात्र नभई पूर्वाधार विस्तारमा समेत उल्लेखनीय काम भएको स्थानीयले बताउने गरेका छन्। शाहको कार्यकालमा ७६ नयाँ ट्रान्सफर्मर जडान गरिएको छ। यसअघि भद्रपुर र लालबन्दीमा उत्कृष्ट कार्यसम्पादन गर्दै शाह दुई पटक ‘उत्कृष्ट कार्यालय प्रमुख’ बनेको प्राधिकरण स्रोत बताउँछ।
यसैबीच, बिर्तामोड–४ स्थित पुरानो कार्यालय परिसरमा नयाँ सबस्टेशन निर्माणको तयारी सुरु भइसकेको छ। केन्द्रका अनुसार टेन्डर प्रक्रिया अघि बढिसकेको छ र छिट्टै निर्माण कार्य सुरु गरिनेछ।
प्रतिक्रिया