धरानमा २५ किलो गाँजासहित मोटरसाइकल बरामद

विहीबार, ०४ मंसिर २०८२

धरान : धरानबाट प्रहरीले २५ किलोग्राम प्रतिबन्धित लागुऔषध (गाँजा) सहित एक मोटरसाइकल बरामद गरेको छ।

गएराति करिब ११:३० बजे, धरान उपमहानगरपालिका–१३, जिरो प्वाइन्टस्थित अस्थायी प्रहरी चौकी अमर हाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए।

शङ्कास्पद रूपमा सामान बोकेको एक मोटरसाइकललाई रोक्न खोज्दा भागेपछि, अमर हाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहाल नेतृत्वको टोलीले पछ्याएको थियो। पछ्याउने क्रममा धरान–तरहरा सिमाना पानीपिया नजिकै सडकछेउमा को ११ प ४६३५ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीको भनाइ छ।

त्यसपछि, धरान–६ पानबारी–सेउती भित्री सडक खण्डअन्तर्गत पानबारी सामुदायिक वन क्षेत्रमा फालेर राखिएको अवस्थामा प्लास्टिक र जेब्रा झोलामा प्याक गरिएको २५ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान जारी रहेको र फरार व्यक्ति खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार