राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

शुक्रबार, ०९ माघ २०८२

काठमाडौं : माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणलगायतका सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ । आयोगका अनुसार मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएका मतदान केन्द्रमा हुनेछ ।

यसपटक १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि सातै प्रदेशको राजधानीमा मतदान हुने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था रहेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार केही प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरी राजीनामा दिएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार