सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

शनिबार, १० माघ २०८२

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पाण्डेले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताएको हुन् ।

पाण्डेले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए, तर जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भए । जुन मेरो पहिचान थियो इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन् ।’

यस्तै, पाण्डेले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरुबीच भिन्नता छुट्याउने बेला आएको समेत बताए । पाण्डेले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ त्यो मान्छे राम्रो हो की चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरु राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ । देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरु भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ । ती जेनजीहरुको रगतले तीनलाई कहिले शान्ति दिने छैन् ।’ पाण्डे भने । 


कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरुलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि समेत पाण्डेको भनाई रहेको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार