काठमाडौँ : सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ । क्षतिग्रस्त सरकारी र निजी संरचनाको पुनःनिर्माणमा सरकारले औपचारिक रूपमा काम अघि बढाएको सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभएको हो ।
सिग्देल अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २०० घर एवं संरचनामा क्षति पुगेको थियो । जसमध्ये एक हजार ३०० सरकारी भवन छन् । मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६०० सङ्घीय भवन पुनःनिर्माणको जिम्मा लिएको छ । तीमध्ये २०० देखि २५० भवनको विस्तृत इञ्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको हो । दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार हुने अपेक्षा मन्त्रालयको छ ।
सचिव सिग्देलले प्रतिवेदन प्राप्त भए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने बताउनुभयो । त्यसका लागि आवश्यक बजेट पुनःनिर्माण कोषमार्फत परिचालित हुनेछ ।
मन्त्रालयअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान फ्लडलाइट जडान र १० हजार दर्शक क्षमताको प्यारामिटर निर्माणको पहिलो चरण पूरा भएको छ । दोस्रो चरणका लागि अर्थ मन्त्रालयमा बहुवर्षीय ठेक्का स्वीकृतिका लागि प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।
यद्यपि बजेट अभावले धेरै आयोजना प्रभावित भएको सचिव सिग्देलले बताउनुभयो । अहिले रु ६१ अर्ब ७६ करोड बराबरका आठ हजार १४० वटा आयोजना रोक्कामा परेपछि भुक्तानी, प्रगति र खरिद प्रक्रियामा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।
पुराना क्रमागत आयोजनासमेत रोक्का सूचीमा परेकाले समस्या थप गम्भीर बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले मूल्याङ्कन, डिजाइन र पुनःनिर्माण प्रक्रियालाई प्राथमिकतामा राखे पनि बजेट फुकुवाको प्रक्रिया चुनौती बनेको छ ।
प्रतिक्रिया