राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको तयारी पुरा

शनिबार, १० माघ २०८२


विराटनगर । राष्ट्रिय सभा सदस्य पदको कोशी प्रदेशमा भोली आइतबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । 

कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले  राष्ट्रिय सभा सदस्य पदका लागि महिला र दलित समुहका दुई पदका लागि भोली मतदान कार्य हुने जानकारी दिएका हुन्। 

राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा रिक्त रहेका महिला , दलित र अन्य समुह तर्फ तीन पदका लागि निर्वाचन तोकिएकोमा उम्मेद्वारी दर्ता गर्ने दिन महिला र दलित तर्फ दुई दुई जनाको उम्मेद्वारी परेको र अन्य तर्फ नेपाली काँग्रेसका सुनितबहादुर थापाको मात्र उम्मेद्वारी परेको थियो । अन्य समुहमा थापाको मात्र उम्मेद्वारी परेपछि थापा निर्विरोध निर्वाचित हुँदा महिला र दलित तर्फ एक एक पदका लागि निर्वाचन हुने छ । 

भोली हुने निर्वाचनमा एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे र नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने चुनावी प्रतिस्पर्धामा रहेका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेस र एमालेले चुनावी गठवन्धन गरेका छन् भने नेकपाले एक्लै उम्मेदवारी दिएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरु मतदाता रहने व्यवस्था छ । जस अनुसार कोशी प्रदेशमा सुरुमा कुल ३६७ जना मतदाता थिए । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका प्रमुख ,उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष थिए । तर अहिलेको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका कारण र कानुनी अयोग्यताका कारण केही मतदाताले मतदानमा भाग लिन पाउने छैनन् ।

९३ सदस्यीय प्रदेशसभामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौला झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि प्रदेशसभा सदस्यका रूपमा उनले मतदान गर्न पाउने छैनन् । त्यसअनुसार अब ९२ जना प्रदेशसभा सदस्यले मात्र राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने छन् ।

स्थानीय तहतर्फ २७४ मतदातामध्ये प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ६ जना र भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई अयोग्य भएका १ जना गरी कुल ७ जना मतदान प्रक्रियाबाट बाहिरिएका छन् । स्थानीय तहका तर्फबाट अब २६७ जनाले मात्र मतदान गर्न पाउनेछन् ।

अब कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३५९जना मतदाताले मात्र मतदान गर्न पाउने अवस्था बनेको छ । निर्वाचन प्रणाली अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार