विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेबीचको गठबन्धन कायमै रहने स्पष्ट पारेका छन् ।
शनिबार मोरङमा सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री घिमिरेले माघ ११ गते (भोली) हुने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका मतदाताले इमान्दार र जिम्मेवार ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।
उनले पार्टीले गरेको निर्णयअनुसार नै निर्वाचन अघि बढ्ने भन्दै कुनै पनि प्रकारको तलमाथि नहुने दाबी गरे ।
“हाम्रा सबै साथीहरू विराटनगर आउँदै हुनुहुन्छ । पार्टीले गरेको निर्णयअनुसार नै राष्ट्रिय सभाको निर्वाचनमा कुनै तलमाथि हुँदैन,” उनले भने ।
महामन्त्री घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस आन्तरिक रूपमा सुधार भएर प्रस्तुत भएको दाबी गर्दै मतदातामाझ पनि सोही आधारमा जाने बताए ।
उनले निर्वाचनका क्रममा अव्यवहारिक र ठूला–ठूला आश्वासनभन्दा पनि जनताले व्यवहारमै महसुस गर्न सक्ने र पूरा गर्न सकिने विषयहरूलाई प्राथमिकता दिने स्पष्ट पारे ।
घोषणापत्रमा अनावश्यक र पूरा हुन नसक्ने प्रतिबद्धता नराखी व्यवहारिक एजेन्डासहित जनतासामु जाने कांग्रेसको रणनीति रहेको उनले बताए ।
प्रतिक्रिया