काठमाडौं : राजनीतिक दल तथा उम्मेदवारको चुनावी खर्चको अनुगमन गर्न निर्वाचन आयोगले अनुगमन अधिकृत तोकेको छ।
आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चसम्बन्धी विषयमा अनुगमन गर्ने कार्यशर्तसहित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको हो।
निर्वाचन आयोगका अनुसार अनुगमन अधिकृतले राजनीतिक दल र उम्मेदवारले निर्वाचनका क्रममा गर्ने खर्च, आय–व्ययको विवरण, आर्थिक अनुशासन तथा कानुनी सीमाको पालना भए–नभएको विषयमा निगरानी गर्नेछन्।
आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृतका लागि १० वटा कार्यशर्त समेत तय गरेको जनाएको छ। ती कार्यशर्तहरूअनुसार अनुगमन कार्य निष्पक्ष, पारदर्शी र कानुनअनुसार गरिने आयोगको भनाइ छ।
(क) निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ को दफा २६ बमोजिम राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गरे नगरेको यकिन विवरण तयार गर्ने,
(ख) निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन कानुन विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिए नलिएको वारे आवश्यक सूचना संकलन गर्ने,
(ग) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २९ को व्यवस्था बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा आयोगले तोकेको हदभित्र रही खर्च गरे नगरेको बारे आवश्यक सूचना संकलन गर्ने,
(घ) निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को व्यवस्था बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार अभियानमा निषेधित कार्यको लागि आर्थिक सहयोग लिए/नलिएको सूचना संकलन गर्ने,
(ङ) निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (भ) वमोजिम उम्मेदवारले निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि गरेको खर्चको बेला–बेलामा जाँचबुझ गरी यकिन विवरण तयार गर्ने,
(च) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ड) बमोजिम राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गरे/नगरेको यकिन विवरण तयार गर्ने,
(छ) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जिल्लाभित्रका उम्मेदवारले निर्वाचन खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गरे/नगरेको यकिन विवरण तयार गर्ने,
(ज) निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को उपदफा (१) को खण्ड (ग) बमोजिम उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोके-नतोकेको यकिन विवरण तयार गर्ने,
(झ) माथि खण्ड (क) देखि (ज) सम्मका विषयमा तत्काल कारबाही गर्नु पर्ने भए जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकको समन्वयमा आवश्यक कारवाही गर्ने,
(ञ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन खर्च विवरणको यथार्थता, आर्थिक सहयोग संकलन कानून सम्मत रहे-नरहेको विवरण र निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा गरेका कामकारबाहीको जिल्लागत पाक्षीक प्रतिवेदन जिल्ला आचारसंहिता अनुगमन समिति र केन्द्रीय आचारसंहिता अनुगमन समिति समक्ष पेश गर्ने ।
प्रतिक्रिया