झापा : सामाजिक सञ्जालमार्फत समाजमा हिंसा भड्काउने खालका अभिव्यक्ति दिएको आरोपमा झापा क्षेत्र नम्बर २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोधपुछ गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ७ घर भएका नेपालले चुनावी प्रचारका क्रममा युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका अभिव्यक्ति दिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक सोधपुछ गरेको हो ।
उम्मेद्वार नेपालले विभिन्न युट्युब च्यानलमा ‘जो पृथ्वी नारायण शाहको विरोधहरुका विरुद्धमा उत्तेजक तथा गैरकानूनी अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रहरीले उक्त अभिव्यक्तिको सत्यता बुझ्न उपस्थित गराई सोधपुछ गरेको जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा नेपालले भविष्यमा यस्ता गलत अर्थ लाग्ने र कानुनविपरीतका अभिव्यक्ति नदिने तथा कानुनको पालना गर्ने प्रतिबद्धता जनाउँदै लिखित कागज गरेको प्रहरीले जनाएको छ । सोही आधारमा हाल उनलाई खोजी भएका बखत उपस्थित हुने सर्तमा छाडिएको र घटनाबारे अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हिंसालाई प्रश्रय दिने, कानुनविपरीतका अभिव्यक्ति दिने तथा श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधिमाथि निरन्तर निगरानी भइरहेको छ ।
‘यस्ता गतिविधिमा संलग्नता पुष्टि भए कानुन बमोजिम कारबाही गरिनेछ,’ सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया