इलाम: शब्द, सिर्जना र प्रेरणाको साझा उत्सवका रूपमा स्थापित समता साहित्य उत्सवको पाँचौँ संस्करण यही माघ १५ गते इलामस्थित समता स्कुलमा आयोजना हुने भएको छ। विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य तथा सिर्जनात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित समता स्कुल पूर्वी कन्सोर्टियमले २०७६ सालदेखि निरन्तर आयोजना गर्दै आएको यो साहित्यिक कार्यक्रम यस वर्ष पनि विविध साहित्यिक गतिविधिसहित सम्पन्न हुने तयारी गरिएको छ।
हरेक वर्ष फरक–फरक जिल्लामा आयोजना हुँदै आएको समता साहित्य उत्सवले साहित्य प्रेमी विद्यार्थी र युवा स्रष्टाहरूका लागि सशक्त मञ्चको रूपमा पहिचान बनाउँदै आएको छ। उत्सवमा ख्यातिप्राप्त कवि तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहने र उनीहरूले आफ्ना सिर्जना, साहित्यिक अनुभव तथा विचार प्रस्तुत गर्दै विद्यार्थीहरूमा भाषा र साहित्यप्रति अभिरुचि र प्रेरणा जगाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
सन्तोष श्रेष्ठको अगुवाइमा सङ्गठित समता स्कुल पूर्वी कन्सोर्टियमले यस्ता बौद्धिक, सिर्जनात्मक तथा शैक्षिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। साहित्य उत्सवको संयोजन भने पहिलो संस्करणदेखि नै पूर्वेली कवि विमल वैद्यले गर्दै आएका छन्। उनी कन्सोर्टियमका साहित्य दूतसमेत हुन्।
पाँचौँ संस्करणको समता साहित्य उत्सवमा यस पटक भारतको दार्जिलिङ र मिरिक सहित झापा, इलाम, पाँचथर र ताप्लेजुङलगायत विभिन्न जिल्लाबाट दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूको सहभागिता रहनेछ। उत्सवमा सहभागी हुने प्रमुख स्रष्टाहरूमा कवि महेन्द्र स्याङ्बो, विवश बलिभद्र कोइराला, कविता राई गाउँले, समदर्शी काइँला, प्रतिभा पौडेल, प्रकाश थाम्सुहाङ्, डाक्टर देवी क्षेत्री दुलाल तथा गायक राजेश चाम्लिङ राईलगायत रहने आयोजकले जानकारी दिएको छ।
साहित्यिक सत्रसँगै सोही दिन समता स्कुलका विभिन्न जिल्लाबाट सहभागी विद्यार्थीहरूबिच ‘अन्तर समता कविता वाचन प्रतियोगिता’ समेत आयोजना गरिनेछ। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै साहित्यिक आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।
साहित्य, सिर्जना र संस्कृतिको समन्वयका रूपमा अघि बढ्दै आएको समता साहित्य उत्सवले विद्यार्थी तहबाटै भाषिक चेतना र साहित्यिक संस्कार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको धारणा छ।
प्रतिक्रिया