झापाः वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सन् २०२६ का लागि निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।
समारोहमा अध्यक्ष कुँवरले आफ्नो कार्यकालको जिम्मेवारी हस्तान्तरण गर्दै सन् २०२६ का अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी) लाई अध्यक्षीय चेन हस्तान्तरण गरेका थिए ।
समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ संयुक्त रूपमा प्रदान गरिएको छ । पुरस्कार प्रदेशखबरकर्मी सुरेन्द्र भण्डारी र बिर्तामोड झापा डटकमका सञ्चालक टीकाराम बाँस्तोलालाई प्रदान गरिएको हो ।
पत्रकार भण्डारी इमेज टेलिभिजन तथा राष्ट्रिय समाचार समिति (रासस) मा समेत कार्यरत रही पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । लामो समयदेखि निरन्तर पत्रकारिता कर्ममा संलग्न रहँदै आएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको वीरता जेसीजले जनाएको छ ।
त्यसैगरी स्थानीय पत्रकारितामार्फत सूचना प्रवाहमा सक्रिय भूमिका खेलेका सञ्चालक बाँस्तोलाको योगदानलाई समेत सम्मान गरिएको छ ।
समारोहमा दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघ–संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।
यसैगरी स्व. दिलिपकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार–२०२५ सिनेटर जेसी घनश्याम चौधरी (अध्यक्ष–२०२३) लाई प्रदान गरिएको थियो ।
जेसीज अभियानमा दीर्घकालीन योगदान पु¥याउँदै वीरता जेसीजलाई राष्ट्रियस्तरमा उत्कृष्ट शाखाका रूपमा चिनाउन भूमिका खेलेको भन्दै वीरता जेसीज सन् २०१८ का अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार एकराज गिरीलाई विशेष सम्मान प्रदान गरिएको छ ।
प्रतिक्रिया