पाँचथर: पाँचथर प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सुनाइएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–८ इथुङका ५० वर्षीय थोलोज सुनुवार (आइते), फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका २७ वर्षीय हस्त तामाङ र एक जना परिवर्तित नाम ‘भि’ रहेका छन्।
प्रहरीका अनुसार हस्त तामाङ र परिवर्तित नाम ‘भि’ बालविवाह मुद्दाका अभियुक्त हुन्। यस्तै थोलोज सुनुवार कुटपिट तथा लुटपिट मुद्दामा अदालतबाट दोषी प्रमाणित भई दुई वर्ष कैद र प्रतिदिन २ हजार २ सय रुपैयाँका दरले जरिवाना सुनाइएपछि फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई अदालतमा बुझाइएपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ।
प्रतिक्रिया