राजविराज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ वर्षपछि नेपाली काँग्रेसका समर्थकहरूले सप्तरी क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ रुख चुनाव चिह्नमा मतदान गर्ने अवसर पाउने भएका छन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनयता नेपाली काँग्रेसले कहिले अन्य दलका उम्मेदवारलाई समर्थन त कहिले गठबन्धनका कारण उक्त क्षेत्र अन्य दललाई छाड्दै आएको थियो । त्यसका कारण काँग्रेस समर्थकहरू आफ्नै चुनाव चिह्नमा मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए ।
यसपटक भने कुनै दलसँग तालमेल वा गठबन्धन नगरी नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएपछि काँग्रेस समर्थकहरूले १२ वर्षपछि रुख चुनाव चिह्नमा मतदान गर्ने अवसर पाएका हुन् ।
नेपाली काँग्रेसले लामो अन्तरालपछि यसपटक पार्टीका जिल्ला उपसभापति रामकुमार यादवलाई क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाएको छ । विगतका गठबन्धनका कारण पार्टीलाई घाटा भएको निष्कर्षसहित यसपटक एक्लै चुनाव लड्ने निर्णय गरिएको र त्यसले कार्यकर्तामा उत्साह थपिएको काँग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति महानन्द यादवले बताए ।
“काँग्रेसप्रति जनताको रुझान हुँदाहुँदै पनि विगतका तालमेल र गठबन्धनले अन्य दललाई फाइदा पुग्यो र काँग्रेसलाई घाटा व्यहोर्नुपर्यो,” उनले भने, “संगठन बलियो बनाउन यसपटक पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको हो ।”
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका तर्फबाट पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी उम्मेदवार थिए । त्यसपछि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले क्रमशः जसपा र लोसपालाई गठबन्धनका नाममा क्षेत्र छाड्दा आम काँग्रेसी निराश भएका थिए । तर, यसपटक एक्लै चुनाव लड्ने निर्णयले स्थानीय नेता–कार्यकर्तामा नयाँ ऊर्जा थपिएको काँग्रेस सप्तरीका सभापति रामदेव साहले बताए ।
काँग्रेसका पुराना नेता शुशील सेभकले केन्द्र, प्रदेश र स्थानीय तहका सबै निर्वाचनमा पार्टीका योग्य उम्मेदवारलाई अघि सारेर आफ्नै बलबुतामा चुनाव लड्नु उपयुक्त हुने धारणा राखे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादवले गठबन्धनको राजनीतिले काँग्रेसलाई फाइदाभन्दा बढी नोक्सान पुर्याएको दाबी गर्दै यसपटक एकजुट भएर चुनाव लडेमा जिल्लाका चारवटै क्षेत्रमा काँग्रेसले जित हासिल गर्ने क्षमता रहेको बताए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–३ र ४ बाट क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरी विजयी भएका थिए । क्षेत्र नम्बर–२ मा भने गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरलाई समर्थन गरिएकाले काँग्रेसका तर्फबाट उम्मेदवारी परेको थिएन । २०७४ को निर्वाचनमा पनि जसपाका उम्मेदवार उपेन्द्र यादवलाई केन्द्रको निर्देशनअनुसार काँग्रेस उम्मेदवार सकलदेव सुतिहारले समर्थन गरेका थिए ।
१८ पालिका रहेको सप्तरीमा पछिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले पाँचवटा पालिकामा प्रमुख जित्दै जिल्लाकै पहिलो पार्टी बनेको थियो । “एक्लै जित्ने वातावरण बने तालमेल र गठबन्धन आवश्यक पर्दैन,” पुराना नेताहरूको भनाइ छ ।
यस क्षेत्रबाट नेपाली काँग्रेसका रामकुमार यादवसँगै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत, जसपा नेपालका उमेशप्रसाद यादव, रास्वपाका रामजी यादव, राष्ट्रिय मुक्ति पार्टीका अनिस अन्सारी, नेपाल जनता पार्टीकी रञ्जु ठाकुर, स्वाभिमान पार्टीका सतीशकुमार सिंह, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी र नेपाल कम्युनिष्ट पार्टीका सूर्यनाथ यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
प्रतिक्रिया