तालमेलको विरासत, हल्लाको राजनीति र गुरु–चेलाको भिडन्त

झापा ३ र ५ मा एमाले–राप्रपाको मत परीक्षा

आइतबार, १८ माघ २०८२

झापा : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–३ र ५ को चुनावी राजनीति असामान्य रूपमा तरंगित देखिएको छ । 

औपचारिक रूपमा चुनावी तालमेल नगरी एक्लाएक्लै मैदानमा उत्रिएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुवै दललाई अहिले आफ्नै मत जोगाउने चुनौति छ  । सामाजिक सञ्जाल, चोक–बजार र राजनीतिक वृत्तमा फैलाइएका हल्ला र अपवाहले यो चुनौतिलाई झन् गहिरो बनाइरहेको छ । 

कहिले झापा–३ मा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले उम्मेदवारी फिर्ता लिएको चर्चा चल्छ, कहिले दमक नगरपालिकाका मेयर राम थापाले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने अपवाह फैलाइन्छ । यस्ता गतिविधिले कार्यकर्ता तहमा मात्र होइन, आम मतदाताको मनोविज्ञानमै अन्योल सिर्जना गरिरहेको चर्चा झापामा चुलिएको छ । 

झापामा नेकपा एमाले र राप्रपाबीच झन्डै १२ वर्षसम्म निरन्तर चुनावी तालमेल रह्यो । तत्कालीन रूपमा तालमेलले जित दिलायो, तर दीर्घकालमा दुवै दलको सांगठनिक आत्मनिर्भरता कमजोर बनायो । आज औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको घोषणा गरिए पनि हिजो तालमेल गरेका यी दुई दल पूर्वप्रेमीझैँ एकअर्कामाथि दाबी गर्न छाडेका छैनन् । यही मनोवृत्तिले एक्लाएक्लै उम्मेदवारी दिए पनि स्वतन्त्र रूपमा मत बटुल्न दुवैलाई कठिन बनाएको विश्लेषण गरिन्छ ।

राप्रपाबाट दमक नगरपालिकाको मेयर जितेका राम थापाले एमाले अध्यक्ष ओलीलाई सघाउने हल्ला केही दिनअघि तीव्र रूपमा फैलियो । त्यसपछि उनले विज्ञप्ति निकालेर खण्डन गर्नुप¥यो ।

‘नेकपा एमाले झापा–५ प्रचारप्रसार समिति दमक र कमल’ नामको फेसबुक आइडीबाट मेरो नाम जोडेर गरिएको दुष्प्रचारप्रति मेरो गम्भीर खेद छ । मेरो आफ्नै पार्टी, चुनावचिन्ह र उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला हुनुहुन्छ’  मेयरले स्पष्ट पारे ।

राप्रपाको तर्फबाट दमक नगरपालिकाको मेयर बनेका थापाको विज्ञप्तिले  हल्लाको असर सजिलै मेटिँदैन । यही कारण झापा–५ मा राप्रपाका लक्ष्मीप्रसाद संग्रौला र झापा–३ मा एमालेका हरिबहादुर राजवंशी ‘डमी’ उम्मेदवार मात्र भएको दाबी व्यापक रूपमा फैलिएको छ ।

भित्री साँठगाँठको शंका

चुनावी तालमेल छैन भनिए पनि एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच अन्तिम समयमा ‘भोटको सौदाबाजी’ हुनसक्ने शंका निवारण हुन सकेको छैन ।

 २०७४ र २०७९ मा तालमेल गरेरै दुवैले जितेको इतिहासले यो शंकालाई बल दिएको छ । त्यतिबेला भएको साँठगाँठप्रति दुवै दलका कार्यकर्ता असन्तुष्ट थिए । अहिले पनि त्यही असन्तोष मत विभाजनको कारण बन्न सक्ने खतरा देखिन्छ ।

गुरु–चेलाको रोचक प्रतिस्पर्धा

यही जटिल समीकरणबीच झापा–३ मा अर्को रोचक दृश्य देखिएको छ–गुरु–चेलाको चुनावी प्रतिस्पर्धा । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ । उनी पार्टीका कार्यवहाक सभापतिसमेत हुन् । उनी एमालेका उम्मेदवार हरिबहादुर राजवंशीसँग प्रतिस्पर्धामा छन् । राजवंशी संविधानसभा सदस्यसमेत रहिसकेका अनुभवी र एमालेका पुराना नेता हुन् ।

कुनै समय बाह्रदशी गाउँपालिका–४ चकचकीको जनविकास निमावि (हाल मावि) मा शिक्षक रहेका राजवंशीले पाठकलाई कक्षा ४ देखि ७ सम्म सामाजिक र विज्ञान पढाएका थिए । शिक्षक पेसाबाट अवकाश लिएपछि राजवंशी राजनीतिमा सक्रिय भए भने पाठक पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका हुन् । 

गाउँ–गाउँमा भोट मागिरहेका पाठक भन्छन्, ‘गुरुले ज्ञान दिनुभयो । राजनीतिमा पनि उहाँको आशीर्वाद पाउने अपेक्षा छ । अनुभव चाहिन्छ, तर संसद नयाँ पुस्ताले पनि जानुपर्छ ।’

‘१२ वर्षपछि सूर्य चिह्न’को उत्साह

झापा–३ मा एमाले कार्यकर्ता पछिल्ला दिनहरूमा उत्साहित देखिन्छन् । निर्वाचनका लागि गत माघ ६ गते गरिएको मनोनयन दर्ता पछि एमाले कार्यकर्ताको एउटै स्वर छ – १२ वर्षपछि सूर्य चिन्हमा मत हाल्न पाइनेभयो । चोक–बजारदेखि सामाजिक सञ्जालसम्म यही लाइन दोहोरिन्छ । तर, आम मतदाता भने शंकालु छन्– के साँच्चै एमालेजनले सूर्य चिह्नमै भोट हाल्छन् त ?

यही प्रश्न कांग्रेस र रास्वपाभित्र गम्भीर बहसको विषय बनेको छ । किनभने विगतका दुई चुनावमा एमाले कार्यकर्ताको ठूलो हिस्सा राप्रपा अध्यक्ष लिङ्देनलाई भोट गएको थियो ।

झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देन, कांग्रेसका राजेन्द्रकुमार घिमिरे, एमालेका हरिबहादुर राजवंशी, रास्वपाका प्रकाश पाठकसहित १७ जना उम्मेदवार छन् । आदिवासी बहुल बस्तीले भरिएको यो क्षेत्रमा ‘गेम चेन्ज’ हुन सक्ने आशंका बलियो छ ।

विगतमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र मानिने झापा–३ लाई लिङ्देनले २०७४ र २०७९ मा जितेर आफ्नो आधार बनाएका छन् । यसपटक सिटौला मैदानमा छैनन् । सतहमा हेर्दा यो अवस्था लिङ्देनका लागि सहज देखिन सक्छ ।

तर, फिल्ड रिपोर्टिङले त्यति सहज चित्र देखाउँदैन । कारण—अघिल्ला जितमा लिङ्देन एमालेको भ¥याङ चढेर अघि बढेका थिए ।

एमाले कचनकवल गाउँ कमिटी अध्यक्ष नवराज भट्टराईले तालमेलको आशंका अस्वीकार गर्छन् । ‘हाम्रो आधिकारिक उम्मेदवार हरि राजवंशी नै हुन् । पार्टी पङ्क्ति उहाँलाई जिताउन लागेको छ,’ उनको दाबी छ । आदिवासी उम्मेदवार भएकाले विपक्षीले अफवाह फैलाएको उनको आरोप छ ।

राप्रपाको आधार र कांग्रेसको कलह

झापा–३ राप्रपाको आधार इलाकाजस्तै बनेको छ । हल्दिबारी, बाह्रदशी र भद्रपुरमा राप्रपाका जनप्रतिनिधि छन् । कांग्रेसभित्र भने गहिरो कलह छ । सिटौला अनुपस्थित हुँदा विपक्षी खेमाका राजेन्द्र घिमिरे उम्मेदवार बनेका छन् । २०७९ मा कांग्रेसले पाएको ३७ हजार मत सुरक्षित गर्न सक्ने कि नसक्ने भन्ने प्रश्नमै कांग्रेसको भविष्य टिकेको छ ।

मतगणित र अन्तिम अनिश्चितता

झापा–३ मा १ लाख ४० हजार ८५७ मतदाता छन्, जसमा ९ हजार ४०० नयाँ मतदाता थपिएका छन् । 

२०७९ मा प्रत्यक्षतर्फ लिङ्देन विजयी भए पनि समानुपातिकतर्फ कांग्रेस पहिलो पार्टी बनेको थियो । एमाले, राप्रपा र रास्वपाबीचको मत विभाजनले यसपटक नतिजा पूर्णतः अनिश्चित बनाएको छ ।

समग्रमा, झापा–३ र ५ को चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा होइन । यो विगतको तालमेल, वर्तमानको हल्ला–अपवाह र भविष्यको राजनीतिक विश्वासको परीक्षा हो । 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार