पर्वत जिल्लाबाट मात्र ३२ करोडको सुन्तला निर्यात

विहीबार, १५ माघ २०८२

पर्वत : पर्वत जिल्लाबाट मात्र यस वर्ष ३२ करोड रुपैयाको सुन्तला निर्यात गरिएको छ । पर्वतका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट  ३२ करोड पाँच लाख रुपैया भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको हो  ।

जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोड रुपैयाका सुन्तला निर्यात भएको छ भने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो । 

कार्यालयका अनुसार यस वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको छ । कृषकले प्रतिकिलोग्राम ९५ देखि १२० रुपैयाँ सम्म बोटबाटै बिक्री गरेको कृषि विकास कार्यलयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मुल्य पनि राम्रो पाएको समेत जानकारी दिइन ।

व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेका किसान यस वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडाँै, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए । गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्तला किनेर लाने गरेको किसानहरुले बताए ।

एउटै टोलबाटै  एक करोड रुपैयाँ देखि  डेढ करोड रुपैया सम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका वडा नम्बर ११ का कृषक रामप्रसाद गौतमले बताए । पछिल्लो समयमा सुन्तला कृषकलाई प्रोत्साहन गर्न प्रदेश सरकार र स्थानीय तहहरुले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ । 

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालन हुनाका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल फैलिएपछि सुन्तला बजारीकरणमा समेत सहज भएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार