'म विष पिउन तयार छु तर पार्टी फुट्न दिन्न'— गगन थापा
'पार्टी फुट्ने अवस्था आए सबैभन्दा पहिले हलबाट मै बाहिरिन्छु' —विश्व प्रकाश शर्मा
नेपाली काँग्रेसका दुई पूर्व महामन्त्री थापा र शर्माको यो भनाई र गराइ हेर्ने हो भने नेपाली काँग्रेस किन फुट्यो भन्ने प्रश्नको उत्तर सहजै भेटिँदैन । बोली र व्यवहारबिच तालमेल नहुनु नेपाली राजनीति र नेताहरूको प्रमुख समस्या हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी एकता जोगाउन सहमतिका लागि अघि सारिएका सबै विषय मान्न तयार हुँदाहुँदै काँग्रेस कुनै हालतमा नफुटाउने अभिव्यक्ति दिँदै आएका थापा र शर्मा किन पार्टी विभाजनका लागि तयार भए त ? रहस्य गहिरो छ ।
परिणाम अन्ततः मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी विभाजित भएको छ । संविधान र व्यवस्था मात्र होइन देशको सार्वभौमिकतामा समेत सङ्कट देखिएको आजको अवस्थामा नेपाली कांग्रेस विभाजित हुनुले अनेकन प्रश्नहरू उब्जिएका छन् । कांग्रेस विभाजित एवं कमजोर हुँदा देशले विगतमा भोग्नुपरेका कठिन परिस्थिति र इतिहासको स्मरण भइरहेको छ ।
सबै स्वर्थहरुभन्दा माथी उठेर काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बेलामा सहमतिका लागि भएका पटक पटकका वार्ता असफल हुनु र काँग्रेस फुट्नु संयोग मात्र होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न चाहने ग्राण्डडिजाईनमा संलग्नहरूको सफलता हो ।
काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहेका नेताद्धय शेरबहादुर देउवा र शेखर कोइराला, काँग्रेस केन्द्रीय समितिको ८० प्रतिशत बहुमत, ५ वटा प्रदेश सभापति,४८ जिल्ला सभापति एवं झन्डै ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकातिर हुँदाहुँदै विशेष महाधिवेशनको बहानामा काँग्रेस विभाजन गर्ने सङ्कल्प महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले किन गरे यसको मुल्याकन इतिहासले पक्कै गर्ने नै छ ।
मुलुक निर्वाचनको सँघारमा छ । समयमा निर्वाचन सम्पन्न हुन नसके त्यसको परिणाम के होला भन्ने सन्त्रास एकातिर छदैछ अर्कोतिर अव काँग्रेसको विवादलाई आयोग र अदालतमा प्रवेश गराएर लोकतान्त्रिक शक्तिको सामर्थ्य छिन्नभिन्न बनाउने कोसिस भइरहेको छ ।
विशेष महाधिवेशनले छानेको नयाँ नेतृत्वलाई आधिकारिक मान्यता दिने परिकल्पना विधि र पद्धतिका हिसाबले जायज देखिँदैन । किनभने निर्वाचन आयोगले नियम–कानुन हेरेरै निर्णय गर्छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिने दिन भएकाले आयोगले यस अघि सबै वैधानिक प्रक्रिया पुरा गरेर को वैधानिक हो भन्ने निर्णय दिनसक्ने अवस्था देखिँदैन ।
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने काँग्रेसको निर्णय यसअघिका पत्र परिपत्र र केन्द्रीय समितिको बहुमत हेरेर आयोगले निर्णय लिनुपर्ने देखिन्छ । विशेष महाधिवेशनको आधिकारिता र काँग्रेसको आन्तरिक किचलोमा प्रवेश गरेर सिङ्गो आम निर्वाचनको प्रक्रिया रोक्ने फुर्सद यो चटारोमा आयोगलाई पक्कै छैन ।
त्यसैले कांग्रेस फुटाएर नयाँ दल दर्ताको सम्भावना अहिले छैन । किनभने, चुनावी प्रयोजनका लागि नयाँ दल दर्ता गर्ने समय सकिइसक्यो । अब फागुन २१ को चुनाव लड्न नयाँ दल गठन गर्न पाइँदैन । समानुपातिकको सूचि बुझाउने प्रक्रिया समेत सम्पन्न भइसक्यो ।
यस्तो विषम परिस्थितमा काँग्रेस फुट्यो चाहिँ किन त ? पार्टी रूपान्तरण, महत्त्वाकाङ्क्षा परिपूर्ति या आन्तरिक किचलो ? यसको वरपर मात्र छैन काँग्रेस विभाजनको गोल चक्कर भूराजनीति देखि आन्तरिक स्वार्थ समूहहरूको चलखेल यसमा रहेको आशङ्का धेरैले गरेका छन् । यसका बाछिटाहरू अब क्रमशः देखिँदै जाने छन् ।
प्रतिक्रिया