झापा गोल्डकप सुरु, उद्घाटन खेलमा झापा ११ विजयी

शनिबार, २४ माघ २०८२

झापा : सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको झापा ११ ले खेलको सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबले पहिले गोल गर्दै अग्रता लिए पनि त्यसपछि झापा ११ ले दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्‍यो।

‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व. विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन्। उद्घाटन समारोह झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा समाजसेवी स्व. डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ। देवी गुठीका नाममा करिब १४ बिघा जग्गा प्रदान गरेका स्व. राजवंशीको अर्धकदको शालिकसमेत सोही अवसरमा अनावरण गरिएको थियो।

कार्यक्रममा प्रतियोगिताका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरे भने संस्थापक अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए। समारोहमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्कासहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो।

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा परिचित झापा गोल्डकपको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई मोटरसाइकल प्रदान गरिनेछ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा ११ गरी १० टोली सहभागी छन्।

२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबलप्रेमीमाझ लोकप्रिय मानिन्छ। यस वर्ष प्रतियोगिताका क्रममा झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार