धरान : साबिक विजेता एनआरटी क्लब, काठमाडौंलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा शनिबार सम्पन्न प्रतियोगिता अन्तर्गतको खेलमा प्लानिङ ब्वाइजले एनआरटी क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफको ४३औँ मिनेटमा प्लानिङ ब्वाइजका केबेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ८६औँ मिनेटमा जर्सी नम्बर १७ का खेलाडी श्याम मुरमुरले अर्को गोल थपेपछि प्लानिङ ब्वाइजको जित सुनिश्चित भयो।
उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइजका योगेश धिमाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
दस टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिनेछ।
त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया