झापा : झापाको कन्काई नगरपालिका २ मा रहेको ह्याप्पी ल्याण्ड फन पार्कमा रोलर कोस्टर खेल्ने क्रममा भएको दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः५० बजेको समयमा फन पार्कभित्र सञ्चालनमा रहेको रोलर कोस्टर (रेल गाडी) को एउटा डब्बा अचानक खुस्किएर भुइँमा खस्दा सो डब्बामा रहेका चार जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल कन्काई नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ४५ वर्षीया पेमा शेर्पाको कोखामा चोट लागेको छ । त्यस्तै सोही ठाउँका प्रजल शेर्पाकी अन्दाजी पाँच वर्षीया छोरी शुभिष्ना शेर्पाको ओठ र मुखमा चोट लागेको र अगाडिको माथिल्लो भागको एउटा दाँत भाँचिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, जगदीश शेर्पाकी अन्दाजी ३१ वर्षीया छोरी प्रियंका शेर्पाको दुवै हात र पाखुरामा चोट लागेको छ । विर्तामोड नगरपालिका वडा नम्वर १ का अन्दाजी ५६ वर्षीया डम्बरी कुमारी दर्जीको छाती र ढाडमा चोट लागेकाले बताइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया