नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको नेपाली कांग्रेसले देश बदल्ने दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टी रूपान्तरणको चरणमा पुगेको र यही परिवर्तनमार्फत मुलुकलाई नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भिडियो सन्देशमा उनले ‘कांग्रेस २.०’ को अवधारणा अघि सार्दै नेपाली कांग्रेसले पुराना असल अभ्यासलाई निरन्तरता दिँदै कमजोरीहरू परित्याग गरेको बताए। “नेपाली कांग्रेस बदलेर आएको छ, यसले देशलाई बदल्छ। यो नयाँ नेपाली कांग्रेस हो, कांग्रेस २.० हो, जसले पुराना कांग्रेसका सबै असल कुरालाई लिएको छ र खराब कुरालाई छाडेको छ,” सभापति थापाले भने।
थापाले नेपाली कांग्रेसलाई परिवर्तनको ‘एजेन्सी’का रूपमा चित्रण गर्दै यही एजेन्सीमार्फत देश बदल्ने सपना साकार पार्न चाहेको स्पष्ट पारे। “म तपाईंहरूसँग काम गर्न चाहन्छु, सँगै हिँड्न चाहन्छु। बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो। यो एजेन्सी प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं,” उनले भने।
देश अहिले सम्हाल्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै सभापति थापाले थप ध्वंसतर्फ जान नदिने प्रतिबद्धता पनि जनाए। “बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौं। यो देशलाई आज सम्हाल्नुपर्ने छ र हामी नेपाललाई सम्हाल्छौं पनि,” उनले भिडियो सन्देशमा भने।
प्रतिक्रिया