काठमाडौं : फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअघि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा अघि सारेका छन्।
चुनावपछिको कांग्रेस कस्तो बनाउने भन्ने खाका कोर्न शीर्ष नेतृत्व व्यस्त रहेको र पुरानो मत जोगाउँदै नयाँ मतदाता आकर्षित गर्ने अभियानलाई तीव्र बनाइएको छ। सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई आह्वान गरेका छन्।
शनिबार काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रममा उनले भदौ २३ को जेनजी आन्दोलन र २४ को विध्वंसबाट पाठ सिकेर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश घरघरमा पुर्याउन आग्रह गरे।
‘पुसको विशेष महाधिवेशनपछि कांग्रेस सबैभन्दा नयाँ पार्टी बनेको छ,’ उनले भने, ‘विगतमा रिसाएका २७ लाख मतदातासम्म पुगेर संवाद गर्नुपर्छ र जेनजीका कुरा सुन्नुपर्छ।’ नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने सामना गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसले निर्वाचनका लागि घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विशेष महाधिवेशनपछि आएको परिवर्तन घोषणापत्रमा समेटिने बताइएको छ।
नेता–कार्यकर्ताले गाउँकेन्द्रित अभियानमार्फत पुरानो विरासत जोगाउँदै नयाँ मतदाता थप्ने प्रयास गरिरहेका छन्। तर पार्टीभित्रको अन्तरसंघर्ष, पुराना दलप्रतिको वितृष्णा र नयाँ राजनीतिक लहर फैलिँदै जाँदा साबिकको मत जोगाउन चुनौती देखिएको छ।
यसपटक घोषणापत्रमा आशा जगाउने र कार्यान्वयन गर्न सकिने एजेन्डा समेटिने नेताहरूको दाबी छ। टिकट वितरणमा पनि ठूलो परिवर्तन गरिएको छ। केही पुराना, इमानदार र जित्न सक्ने नेताहरू मैदानबाहिर रहे पनि अधिकांश उम्मेदवार युवा समूहबाट चयन भएका छन्, जसले पार्टीभित्र नयाँ तरंग ल्याएको छ।
कांग्रेसले मधेश प्रदेशबाट औपचारिक चुनावी अभियान सुरु गर्ने तयारी गर्दै फागुन ६ गते जनकपुरमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ। सभापति थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। कांग्रेस उपसभापति पुष्पा भुसालका अनुसार मधेशबाट विभाजित मतलाई पुनः एकताबद्ध गर्ने लक्ष्यका साथ यो रणनीति अपनाइएको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार विगतका आश्वासनमुखी घोषणापत्रको आलोचनालाई ध्यानमा राख्दै यसपटक जनजीवन, सुशासन, सेवाप्रवाह, विदेश नीति र आर्थिक समृद्धिका योजनासहित विस्तृत दृष्टिकोण प्रस्तुत गरिनेछ। सभापति थापाकै नेतृत्वमा घोषणापत्र लेखन भइरहेको छ।
यसपटक असन्तुष्ट नेताहरू बागी उम्मेदवार नबनी अन्य दलमा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका छन्। विशेषगरी रास्वपा र एमालेतर्फ कांग्रेसबाट जानेहरूको संख्या बढेको छ। त्यसैले कांग्रेसले पुराना मतदाता मात्रै जोगाएर साख कायम राख्न नसक्ने र नयाँ मतदाता आकर्षित गर्नुपर्ने चुनौती देखिएको छ।
निर्वाचन इतिहासमा कांग्रेस कहिल्यै तेस्रो स्थानमा झरेको छैन। तर नयाँ नेतृत्व र नीतिसहित मैदानमा उत्रिए पनि साबिकको जनमत जोगाउन यसपटक चुनौतीपूर्ण देखिएको छ। राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले कांग्रेसमा इतिहासकै ठूलो परिवर्तन भएको टिप्पणी गर्दै गगन थापाको नेतृत्वलाई साहसपूर्ण र दूरदर्शी कदम बताएका छन्। उनका अनुसार घोषणापत्र सार्वजनिक भएपछि मतदाताले फरक एजेन्डाको आधारमा निर्णय गर्नेछन्।
प्रतिक्रिया