सुरेन्द्र भण्डारी
झापा । राणा प्रधानमन्त्री पद्म शमशेरले हुलाकीहरुलाई चिठ्ठी आदान प्रदान गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले निर्माण शुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य अझैं सकिएको छैन ।
वि. संं २००२ देखि २००४ सम्म सत्तामा रहेका बेला प्रधानमन्त्री पद्म शमशेरले यो सडकको निर्माण कार्य अघि बढाएका थिए । सडक निर्माणको काम शुरु भएको ७८ वर्ष पूरा भएको छ । तर, सडक निर्माणको काम अझै सकिएको छैन ।
हुलाकी राजमार्गको कूल लम्वाई १ हजार ८ सय ८७ कीमी रहेको छ । यो राजमार्गले पूर्वमा मेचीदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीको तराईका भूभागका २० जिल्लालाई छोएको छ ।
निर्माण शुरु भएको ७८ वर्षपछि हुलाकी राजमार्ग अन्तरगत झापामा पर्ने ४८ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
दुई चरणमा गरिएको कालोपत्रेको काम हालै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालयका इञ्जिनियर दीपेन्द्र चौधरीले बताए ।
मेची नदीखेखि राजगढसम्मको सडक कालोपत्रे गर्ने कार्य पहिलो चरणमा सम्पन्न भएको र राजगढदेखि रतुवा खोलासम्मको काम दोस्रो चरणमा सम्पन्न भएको उनको भनाई छ । सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएपनि पुल निर्माणको काम भने सुचारु नै रहेको बताइएको छ ।
पीएस, गजुरमुखी–मोतीदान कन्ट्रक्सन जेभीले सडक निर्माणका लागि ठेक्का लिएको हो ।
‘मेचीदेखि राजगढसम्मको सडक कालोपत्रे सकिए लगत्तै राजगढदेखि रतुवासम्मको २८ किलोमिटर सडक खण्ड निर्माण कार्यलाई अघि बढाइएको थियो मोतिदान कन्ट्रक्सनका व्यवस्थापक मनोज उप्रेतीले भने, ‘सबै सडक खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ केही स्थानमा सडक मर्मत कार्य मात्र बाँकी छ । त्यो पनि केही समयमा सम्पन्न गर्दै सडक हस्तान्तरण गर्ने पक्षमा कम्पनी पुगेको छ ।’
वर्षामा आएको बाढीले माई खोला आसपासको सडकमा क्षति पु¥याएको र क्षतिग्रस्त सडकलाई मर्मत गर्दै कालोपत्रे गर्ने काम अघि बढाइएको उप्रेतीले बताए । केही ठाउँको मर्मत कार्य सम्पन्न गरेलगत्तै सडकमा मार्किङ गर्ने र वोर्ड राख्ने काम गर्ने उनको भनाइ छ ।
हुलाकी राजमार्ग अन्तर्गत राजगढदेखि रतुवा पुलसम्म २८ किलोमिटर सडक कालोपत्रेका लागि ७५ करोड ३२ लाख ३१ हजार तीन सय ९१ रुपैयाँ ५० पैसामा ठेक्का लागेको हो ।
२०६९ जेठ २४ गतेको मन्त्रीस्तरीय निर्णयपछि यो राजमार्ग निर्माणको कामले तीव्रता पाएको थियो । त्यस लगत्तै २०७९ साल असोज २४ सडक निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो ।
झापामा हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भएपनि मोरङमा भने समयमा सडक निर्माण सम्पन्न नहुँदा यो सडक अलपत्र बनेको छ । बन्दा बन्दैको सडक बनाउन छाडेर निर्माण व्यवसायी वेपत्ता भएपछि मोरङस्थित हुलाकी सडक अलपत्र बनेको हो ।
बिना जानकारी सडक निर्माण कार्य ठप्प पारेर निर्माण व्यवसायी बेपत्ता भएसंगै सडक निर्माण कार्य अलपत्र बनेको हो । निर्माण व्यवसायी वेपत्ता बनेसंगै सडक निर्माण कार्य नै ठप्प भएपछि जनप्रतिनिधि अहिले सडक संघर्षको तयारीमा पुगेका छन् ।
समयमा सडक नबन्दा स्थानीयले सास्ती पाएपछि प्रतिनिधि सभा, प्रदेश सभा सदस्यहरु, स्थानीय सरकारका प्रमुखहरुले बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सडक सर्घष गर्ने चेतावनी दिए ।
मोरङमा हुलाकी सडकको कूल लम्बाई ४४ किलोमिटर छ । त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाई किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ ।
जसमध्ये रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ । पिएस गजुरमुखी मोतीदान जेभीले लिएको यो खण्डको काममा समस्या नभएको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले जनाएको छ ।
त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ । कालिका मैनाचुली वेदाङ्सी जेभीले गरेको यो काम पनि सकिएको प्रदेश सांसद गणेश उप्रेतीले बताए ।
तर, बेतौनादेखि हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ । दुईवटा प्याकेजमा भइरहेको काममध्ये बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर क्षेत्रको काम एक महिनायता ठप्प छ । पिएस गजुरमुखी मोतीदान जेभीले गर्दागर्दैको काम छाडेको हो ।
‘त्यो खण्डमा ग्राभेलदेखि कालोपत्रेसम्मको काम गरिनुपर्ने हो’, हुलाकी सडक कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले भने, ‘तर, बिना जानकारी पिएस गजुरमुखी मोतीदान जेभीका ठेकेदार बेपत्ता छन् ।’
नयाँ बजारदेखि हाटखोलासम्मको सडकको पनि अवस्था त्यस्तै छ । यो खण्डको कूल लम्बाई साढे ५ किलोमिटर हो । श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको यो सडक पनि महिनादिनभन्दा बढी समयदेखि अलपत्र छ ।
यसरी दुईवटा घना आवादी भएको ठेक्का प्याकेज क्षेत्रमा काम रोकिएपछि सांसदहरुसहितका जनप्रतिनिधिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
हुलाकी सडक आयोजनाको काम अलपत्र परेपछि प्रतिनिधिसभाका सांसदद्वय ऋषिकेश पोखरेल र योगेन्द्र मण्डल, कोशी प्रदेशसभाका ६ जना सांसदहरु गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल र अमृत अर्यालले आन्दोलनको चेतावनी दिएका हुन् ।
उनीहरुसँगै रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पनि आन्दोलनको चेतावनी दिएका हुन् ।
यता हुलाकी राजमार्ग अन्तरगत नै झापामा पर्ने कनकाई, बिरिङ तथा रतुवा नदीका पुल धेरै वर्षदेखि अलपत्र अवस्थामा छन् । मेचीदेखि महाकालीसम्म अवरोधबिना सवारीसाधन चल्न सक्ने वैकल्पिक राजमार्गको रूपमा हेरिएको हुलाकी राजमार्ग समयमा नै निर्माण सम्पन्न हुने हो भने करिब ८० लाख तराईवासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
७० प्रतिशत सकियो हुलाकी राजमार्गको काम
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।
खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ ।
अहिलेसम्म दुई सय ११ किमी सडक निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको आयोजना प्रमुख चुडाराज ढकालले बताए । ‘सत्तरी पुल पनि ठेक्कामा जान बाँकी छ । रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन’ उनले भने, ‘ती ठाउँमा के गर्ने भनी निर्णय आउन बाँकी छ ।’
सडकको रेखाङ्कन कतिपय खण्डमा पूर्व–पश्चिम राजमार्गको नजिकै पर्ने भएकाले त्यसैमा लगेर हुलाकी राजमार्ग जोड्ने कि रेखाङ्कनअनुसार बनाउन लाग्ने भनी निर्णय हुन बाँकी रहेको प्रमुख ढकालले बताए । उनले भने, ‘पूर्व–पश्चिम राजमार्गलाई दुई लेन गरेर यसलाई पनि दुई लेन गर्ने कि दाङ, कपिलवस्तु, बाँकेमा वन क्षेत्रबाटै निर्माण गर्ने भनी निर्णय हुन बाँकी छ ।’
यो आर्थिक वर्षको प्रगति ६० प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा काम गर्दा पहिले विनियोजित रकममात्रै पर्याप्त नहुने देखिएको उनले बताए । यो आवमा रु दुई अर्ब थप रकम माग गरिएको उनले जानकारी दिए । उनले भने, ‘त्यो रकम आएर काम गर्दा यस वर्ष ९५ प्रतिशत प्रगति हुनेछ ।’
जम्मा दुई सय ५० किमी सडक कालोपत्र गर्ने योजना बनाइएको भए पनि अहिले दुई सय किमी कालोपत्र गर्न लागिएको उनले बताए ।
कालोपत्रबाहेक यो आवमा अरु संरचनाको काम बढी भएकाले कालोपत्र कम गरिने योजना बनाइएको हो । यो आवमा हालसम्म आठ पुलको निर्माण सकिएको छ भने सात सकिने क्रममा छन् ।
दाङको शिवगढी मन्दिरबाट कपिलवस्तु, दाङ र बाँकेको केही क्षेत्रसम्म बस्ती नभएको वन क्षेत्र रहेको प्रमुख ढकालले बताए । ‘लमहीबाट पश्चिम निकुञ्ज र वन क्षेत्र सबै जङ्गल नै जङ्गल रहेको छ’ उनले भने, ‘चुरेमा साढे तीन किमी सुरुङ बनाउन सकिने पनि सम्भावना रहेको छ ।’
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा रहेको थियो । आव २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो ।
विभिन्न कारणले त्यो स्वरुपमा काम हुनसकेको थिएन । भारतीय पक्षले बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर सरकारले बाँकी निर्माण अघि बढाएको थियो ।
योजनाअन्तर्गत नै आठ सय ८१ किमी लम्बाइको शाखा सडक (फिडर सडक)को निर्माण भइरहेको छ । यसमध्ये दुई सय ४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ ।
राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने विगतका वर्षमा कोभिडका कारणले निर्माण हुन नसकेकाले पनि राष्ट्रिय गौरवका सडक योजनाको लक्षित समय बढाउनुपर्ने बताएको छ ।
हुलाकी राजमार्गलाई तराई/मधेसको समृद्धिको लक्ष्यसहित सुरु गरिएको हो । यो पूर्वी तराईलाई पश्चिम तराईसम्म जोड्ने मार्ग पनि हो । मधेस क्षेत्रमा देशभरको झन्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्ने सरकारले अपेक्षा गरेको छ ।
Discussion about this post