झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा परिचित छ ।
नगर विकास कोषबाट सन् २०१८ र सन् २०२२ मा गरी दुई पटक देशकै नमूना खानेपानी संस्थाको रुपमा अवार्ड बिर्तामोड साना शहरी खानेपानी संस्थाले जितेको छ ।
अर्जुनधारा नगरपालिका केही वडासहित बिर्तामोड नगर क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको यो संस्थामा अहिले नेतृत्व चयनका लागि चुनावी चटारो देखिएको छ ।
झापामा रहेका राजनीतिक दलले समेत खानेपानीको निर्वाचनलाई विशेष महत्व दिएका कारण संस्थाको नेतृत्व गर्नका लागि छुट्टाछुट्टै दुईवटा प्यानल खडा भएका छन् । उनीहरु आफ्ना साझा उम्मेद्वारसहित मतदाताका घर घरमा मत माग्न व्यस्त छन् ।
जेठ १५ गते हुने निर्वाचनका लागि मतदातासँग मत माग्दै उम्मेद्वार घर घर पुगिरहेका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत उनीहरुसँगै मत माग्न हिँडिरहेका छन् ।
यो संस्थामा लामो समयदेखि नेपाली कांग्रेस समर्थक पदाधिकारीले नेतृत्व लिंदै आएका छन् । यसपटक पनि कांग्रेस आफ्नो विरासत जोगाउने दाउमा छ । संस्थाको आसन्न निर्वाचनमा विगतमा जस्तै कांग्रेस र राप्रपाले सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गरेका छन् ।
दुई दल ‘लोकतान्त्रिक राष्ट्रबादी समूह’ का नाममा निर्वाचनको मैदानमा होमिएका छन् । त्यस्तै, नेकपा एमाले सो संस्थामा कांग्रेसलाई रोकेर अगाडि बढ्ने रणनीतिमा देखिन्छ । निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायतका दलले स्वतन्त्र प्रगतिशील प्यानलका नाममा मैदानमा उत्रिएका छन् ।
कांग्रेस र राप्रपाले तालमेल गरेर गठन गरेको ‘लोकतान्त्रिक राष्ट्रबादी समूह‘ बाट अध्यक्षमा साझा उम्मेद्वारका रुपमा मेघराज बास्तोलालाई अगाडि सारिएको छ ।
यसअघि उनी बिर्तामोड खानेपानीमा सचिवको भूमिकामा थिए । खानेपानी संस्था सञ्चालनको लामो अनुभव भएकाले कांग्रेसले अरु आकांक्षीलाई पन्छाएर बाँस्तोलाको नेतृत्व रोजेको हो ।
वास्तोलाको नेतृत्वमा उपाध्यक्ष शैलेश सिटौला, सचिवमा पारस मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य महिलातर्फ बाला खरेल, माया प्रधान, कमला अग्रवाल र खुल्ला सदस्यमा आनन्द गुरुङ्ग तथा खगेन्द्र थापा चुनावी मैदानमा छन् ।
Discussion about this post