विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितको टोलीले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गरेको छ ।
सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहितको टोलीले महेन्द्र मोरङ क्याम्पस छेउ, शुक्रबारे हाटसहित च्याङबारी पैनीको निरीक्षण गरेको हो ।
रानी सडक, आइसीपी, वडा नम्बर ६ र ११ स्थित नालाहरुको पनि निरीक्षण गरिएको थियो । वडा नम्बर ६ स्थित नहरको खुल्ला नालालाई १५ दिनभित्र बन्द गर्न योजना महाशाखा प्रमुख अर्जुन थापालाई मेयर कोइरालाले निर्देशन दिए ।
सो अवसरमा सम्बन्धित वडाका वडाध्यक्ष १६ का उद्धव भुजेल र ६ का हरिशचन्द्र सहनीको समेत सहभागिता थियो । वर्षौंदेखि नाला सफाई नहुँदा वर्षाको पानी सडकमा बस्ने गरेको थियो । जसका कारण सामान्य वर्षा हुँदा महानगरका अधिकांश क्षेत्र डुबान हुने गरेको थियो ।
पैनी र नाला सफाई गर्दा केही मात्रामा भए पनि डुबान समस्या समाधान हुने मेयर कोइरालाको भनाइ छ । महानगरले गत माघदेखि नै नाला सफाई अभियान जारी राखेको छ । अहिले पनि विभिन्न वडामा नाला र पैनी सफाई जारी छ ।
Discussion about this post