विराटनगर । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार मोरङबाट सोमबार १९ जना कैदी छुटेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि विभिन्न मुद्दाका कैदी कारागारबाट रिहा भएका हुन् ।
कैद सजाय माफी मिनाहा हुनेमा २ जना महिला र १७ जना पुरुष छन् । सजाय मिनाहा हुनेमा १ जना भुटानी नागरिक पनि छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका भुटानका नागरिक धनवीर सुब्बाले सजायमा छुट पाएका हुन् । सजाय छुट पाउनेमा मोरङका १३, सुनसरीका २, झापा, धनकुटा र सिरहाका १–१ तथा भुटानका १ जना रहेका छन् ।
सवारी ज्यान मुद्दाका ९ जना, बहुविवाहका ३, कर्तव्य ज्यानका २, डाँकाका २, चोरीका २ र ठगी मुद्दाका १ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार मोरङले जनाएको छ ।
कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार सजाय माफीका लागि २१ जनाको नाम सिफारिस गरिएको थियो । सिफारिस गरिएकामध्ये २ जनाले सजायमा छुट नपाएको र १९ जनाको कैद मिनाहा भएको उनले बताए ।
सजायमा छुट पाएर रिहा भएका कैदीलाई लिन परिवारका सदस्य र आफन्त कारागारसम्मै पुगेका थिए ।
महिला र पुरुष गरेर जिल्ला कारागार मोरङको क्षमता ३ सय जनाको हो । कारागारमा अहिले १ हजार ७६ जना कैदी बन्दी रहेको जानकारी भगतले दिए ।
Discussion about this post