विराटनगर । पहिचान पक्षधरले गरेको प्रदर्शनका क्रममा प्रहरीले विराटनगरमा नियन्त्रणमा लिएका २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।
प्रहरीले आइतबार ८६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तोडफोड एवं आक्रमणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
नियन्त्रणमा लिइएकामध्ये ६० जनालाई छाडिसकिएको प्रहरीले जनाएको छ । अन्यलाई भने अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।
सोमबार सार्वजनिक बिदा परेका कारण उनीहरुविरुद्ध मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएकामध्ये महिला, अशक्त र वृद्धवृद्धालाई छाडिएको छ ।
‘नियन्त्रणमा लिइएकाबाट भाला, लाट्ठी, भाटा, बाँस, गुलेली, ढुंगासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनका क्रममा उत्तेजना फैलाएर हिंसा भड्काउने, प्रदेशको स्वास्थ्य मन्त्रालयमा तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई मुद्दा चलाउन लागिएको प्रहरीको भनाइ छ ।
कोसी प्रदेशको दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने हिसाबले पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रदेशसभा भवनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुडा एवं आक्रमण गरे ।
प्रहरीका अनुसार स्वास्थ्य मन्त्रालयमा तोडफोड एवं ढुंगामुडा गरिँदा ३० लाखभन्दा बढीको क्षति भएको छ । आन्दोलनकारीले ढुंगाले हानेर मन्त्रालयको बा २ झ ३१२८ र बा २ झ २४०८ नम्बरका गाडीमा क्षति पुर्याएका छन् ।
पार्किङ गरेर राखिएका सरकारी गाडीको शिशा फुटाइएको प्रहरीले जनाएको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट सुरक्षाकर्मीको ५ थान सिल ढाल र हेल्मेट कामै नलाग्ने गरी क्षतिग्रत बनेका छन् ।
आन्दोलनकारीले प्रदर्शन उग्र बनाउँदै ढुंगा, इँटा, बियरको बोतल र गुलेली प्रहार गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए ।
प्रदर्शनका क्रममा भएको झडपमा परेर ५४ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमध्ये ३८ जना नेपाल र १६ जना सशस्त्र प्रहरी छन् । आन्दोनकारीतर्फ १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले भने ४० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको दाबी गरेका छन् ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । प्रदेशको नामकरणपछि पहिचान पक्षधर असन्तुष्ट बनेका छन् ।
कोसी नाम खारेज र ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले निरन्तर आन्दोलन गरिरहेका छन् ।
मुद्दा चलाउने तयारी गरिएकामध्ये झापा र सुनसरीका ६–६, इलामका ५, मोरङका ४ र पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर एवं उदयपुरका १–१ जना छन् ।
झापाको कमल गाउँपालिका–२ का खड्क लिम्बू, कमल–४ का सुमन केरुङ, हल्दिबारी–३ का सुकराज लिम्बू, मेचीनगर–११ का सुकराज थेबे, बिर्तामोड–४ का प्रयास वान्तवा, अर्जुनधारा–४ का सन्तोष सुम्पाफेविरुद्ध मुद्दा चलाइने भएको हो ।
सुनसरीको इटहरी–५ का अशोक चेम्जोङ, धरान–८ का आरभी लिम्बू ९भविश्वर०, धरान–१५ का कूलप्रसाद लिम्बू, प्रदीप लिम्बू, पदम खेवाङ र धरान–१७ का सीताराम राईविरुद्ध मुद्दा चलाइँदै छ ।
त्यस्तै मुद्दा चलाउन लागिएकामध्ये इलामको माई–६ का मनकुमार थेगिम, माई–८ का मनकुमार लिम्बू, माङ्सेबुङ–५ का शंकर लिम्बू, रोशन लिम्बू र चुलाचुली–४ का जेबी साँवा तथा मोरङको पथरीशनिश्चरे–८ का ताराकुमार लिम्बू, लेटाङ–७ का प्रमोद लिम्बू, लेटाङ–२ का छविरमण सार्की र मिक्लाजुङ–२ का राजभक्त लिम्बू छन् ।
ताप्लेजुङको फुङलिङ–८ का नवीन पोमु, पाँचथरका सञ्जीव लिम्बू, धनकुटाको चौबीसे–२ का दुर्गा मगर, भोजपुरको आमचोक–४ का अमृत राई र उदयपुरको गाईघाट–३ का सुकुम राईविरुद्ध पनि मुद्दा चलाइने भएको छ ।
Discussion about this post