विराटनगर । कोशी प्रदेश सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेटको तयारीमा जुटेको छ ।
लक्ष्यअनुसार राजस्व परिचालन हुन नसकेको पृष्ठभूमिमा सानो आकारको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।
विज्ञले भने कम लगानीमा बढी प्रतिफल दिने तथा अनुत्पादक र फजुल खर्च कटौती गर्ने बजेट ल्याउन सुझाव दिएका छन् ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपछि सङ्घीय सरकारले २० प्रतिशत खर्च कटौती गर्न निर्देशन दिएकोमा कोशी प्रदेशले २५ प्रतिशत कटौती गरेको छ ।
राजश्व लक्ष्यअनुसार असुल हुन नसक्दा केन्द्र सरकारबाट अपेक्षाअनुसार रकम प्राप्त हुने देखिँदैन भने कोशी सरकारले पनि लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा चार अर्ब ९८ करोड रुपैयाँ राजश्वको लक्ष्य राखेकोमा हालसम्म दुई अर्ब ९४ करोड मात्रै असुली गरेको छ ।
भौतिक पूर्वाधार र औद्योगिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले कृषि, गरिबी निवारण, नयाँ व्यवसायी जन्माउने बजेट ल्याउने दाबी गरेका छन् ।
Discussion about this post