काठमाडौं । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । वर्षको सुरुवाती ५ महिनामा भएको पर्यटक आगमनले सरकार र पर्यटन व्यवसायी दुवै उत्साहित छन् ।
सन् २०२३ देखि ३२ सम्मलाई पर्यटन दशक घोषणा गरिसकेको सरकारले लक्ष्य भेट्टाउने गरी कार्यक्रम तय गर्न भने सकेको छैन ।
सन् २०२३ को सुरुवाती ५ महिनामा ४ लाख ४ हजार २ सय ३१ पर्यटक नेपाल भित्रिएका छन् । जसमा सबैभन्दा बढी भारतबाट ३१ प्रतिशत अर्थात १ लाख २८ हजार ७ सय ६० जना नेपाल भित्रिएका छन् ।
सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएकोमा सुरुवाती ५ महिनामा ४ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरे पनि कोरोनाका महामारीका कारण रद्द गर्नुपर्यो । २ वर्षसम्म शून्य रहेको नेपालको पर्यटन क्षेत्र सन् २०२३ मा भने सन् २०१९ कै अवस्थामा पुग्ने अनुमान गरिएको छ । पर्यटन क्षेत्रमा ९२ प्रतिशत पुनःउत्थान भएको सरकारको विश्लेषण छ ।
पर्यटन दशकको सुरुवाती वर्षमा १० लाख पर्यटक भित्र्याउने र बर्सेनि बढाउँदै लैजाने सरकारको योजना छ । २० खर्ब हाराहारी लागानी भएको र १० लाखभन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी दिएको यो क्षेत्रले ३० लाख पर्यटकलाई सेवा दिन सक्ने भए पनि सरकारले लक्ष्य अनुसार कार्ययोजना भने बनाउन नसकेको निजी क्षेत्रको गुनासो छ ।
निजी क्षेत्रले असन्तुष्टि जनाए पनि पर्यटन बोर्डले भने प्रचारप्रसारकै कारण नेपालको पर्यटन क्षेत्रले दक्षिण एसियामै सबैभन्दा छिटो पुनर्उत्थान गरेको दाबी गरेको छ । नयाँ गन्तव्यको पहिचान र थप पूर्वाधार निर्माणमा ध्यान दिने हो भने मात्र सरकारको लक्ष्य र व्यवसायीको अपेक्षा पूरा हुन सक्छ ।
Discussion about this post