इलाम । नेपालमा चिया खेती सुरु भएको १६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका १ को साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो ।
चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो ।
पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिसिप मोडालिटी) मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए ।
उनले इलाममा नै यो बिषय अध्यापन सुरु भएपछि चियासँग सम्बन्धी किसानलाई सहजता हुने बताए ।
अध्यापन सकेपछि औद्योगिक प्रशिक्षार्थी उत्पादन हुने खनालको भनाई छ । कक्षा सञ्चालनको पत्र आउन बाँकी रहेको छ । पत्र पाएपछि अध्यापन सुरु गरिने जनाइएको छ ।
विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा कोर्ष अनुसार अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सम्वन्धी ब्यवहारिक अभ्यास गराइने छ ।
चिया प्रविधि अध्यापनका लागि एक शैक्षिक सत्रमा ४० जनासम्म विद्यार्थी समावेश हुने छन् । एसइई उत्तीर्ण गरेका विद्यार्थीले यो शिक्षामा सहभागी हुन पाउने जनाइएको छ ।
सुरुको करिब तीन महिना शिक्षालयमा अध्यापन गराइने र बाँकी समय उद्योगमा नै ब्यावहारिक शिक्षामा खर्च हुने छ ।
२४ महिनाको कोर्ष सञ्चालन हुने छ । हप्तामा पाँच दिन उद्योगमा र बाँकी एक दिन शिक्षालयमा अध्यापन हुने जनाइएको छ । पछिल्लो एक महिना समेत विद्यालयमा बिद्यार्थीले ज्ञान लिने छन् ।
सयौँ किसान यस क्षेत्रमा रहेको र हजारौँको राजगारी हुने गरेको चियामा हालसम्म नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ हुने गरेको थिएन ।
गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता रहँदै आएको छ । चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । पहिलो पटक यसरी बिशुद्ध प्राविधिक उत्पादन गर्ने उद्देश्यले अध्यापन हुन लागेको जनाइएको छ ।
मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने जनाइएको छ । यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाए पनि सफल भएन ।
त्यस्तै झापाको मेची बहुमुखी क्याम्पसमा समेत केही समयअघि यो बिषयको अध्यापन सुरु भएको थियो । तर तीन वर्ष सञ्चालन भएपछि पठनपाठन ठप्प रहयो ।
चिया विषयमा अध्ययन नभएका कारण हाल नेपाली चिया क्षेत्रमा समेत भारतीय दक्ष जनशक्ति ल्याँदै आइएको छ ।
विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरेको छ । नेपालमा भने भर्खरै सुरु हुन लागेको छ ।
नेपाली श्रमिकले चिया टिप्ने, उद्योगमा सामान्य काम गर्ने गरेका छन् । जानीनजानी काम गर्ने गरेको भए पनि अब बिषयगत रुपमा नै अध्यापन हुन लागेको छ । यसले पनि दक्ष जनशक्ति उत्पादन गर्ने र यहाँ चियाको गुणस्तर बृद्धि हुने अपेक्षा लिइएको छ ।
यस शिक्षालयमा हाल पाँच धारका प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन भइरहेको छ ।
Discussion about this post