झापा । के तपाई अविवाहित हुनुहुन्छ ? यदि तपाई अविवाहित हुनुहुन्छ भने तपाई अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ । यो झापाको बाह्रदशी गाउँपालिकाको कुरा हो ।
बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ ।
नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो । यसअघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि अब ५० रुपैयाँ शुल्क बृद्धि गरेको हो ।
त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न ५ सय रुपैयाँ लाग्ने भएको छ । यसअघि नाता प्रमाणित गर्न ३ सय रुपैयाँ मात्रै लाग्दै आएको थियो । त्यस्तै बसोवास प्रमाणित गर्न समेत ५ सय रुपैयाँ लाग्ने राजपत्रमा उल्लेख छ ।
पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नावालकको परिचय पत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ । जसका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।
गाउँपालिकाले सम्वन्ध विच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको पाइएको छ । सम्बन्ध विच्छेदका लागि गरिने सिफारिसका लागि यस अघि ३ सय रुपैयाँ लिँदै आएपनि यस वर्षबाट सो शुल्कलाई बढाएर एक हजार रुपैयाँ पु¥याइएको छ ।
व्यवसायीका लागि घट्यो करको दर
बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट व्यवसायीकको पक्षमा ल्याएको छ । नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा मौन देखिएको गाउँपालिकाले व्यवसायिक क्षेत्रमा भने करको दर घटाएर आर्थिक नीति व्यवसायीको पक्षमा ल्याएको छ । गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षदेखि लागू हुने गरी कारको दर घटाएसंगै राजश्व संकलन प्रभावित हुने देखिएको हो ।
गाउँपालिकाले फर्निचर उद्योगदेखि मदिराको थोक तथा होलसेल र इटा उद्योगको करको दर घटाएर व्यवसायी पोस्ने काम गरेको हो । गाउँपालिकाले स–मिल सहितको काठ्ठ उद्योगमा गत वर्ष आठ हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्षदेखि लागू हुने गरी ५ हजार रुपैयाँ मात्र कायम गरेको छ ।
त्यस्तै फर्निचर उद्योग वेन्सो सहित गत वर्ष ५ हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्ष ३ हजार रुपैयाँ मात्रै करको दर कायम गरिएको छ । गाउँपालिकामा रहेको इँटा उद्योगबाट ५० हजार रुपैयाँ कर लिँदै आएपनि यस वर्षबाट २० हजार रुपैयाँ कर घटाएर ३० हजार रुपैयाँ कायम गरिएको छ ।
विभिन्न प्रकारका मदिराको थोक तथा होलसेल विक्रेताले अब तीन हजार रुपैयाँ प्रतिवर्ष कर तिरे पुग्छ । यस अघि उनीहरुले पाँच हजार रुपैयाँ कर तिर्दै आएका थिए । त्यस्तै इँटा टायल, मार्वल लगायतको थोक तथा होलसेल बिक्रेताले वार्षिक रुपमा तीन हजार रुपैयाँ कर तिरे पुग्ने भएको छ । यस अघि उनीहरुले वार्षिक रुपमा पाँच हजार कर तिर्दै आएका थिए ।
वार्षिक रुपमा करोडौं कारोवार हुने उद्योगहरुबाट करको दर घटाएर गाउँपालिकाले व्यवसायीलाई फाइदा पुग्नेगरी बजेट ल्याएको हो ।
नागरिकले सिफारिस तथा घर जग्गाको करको दायरा नघटेको भनेर पटक पटक आवाज उठाउँदा समेत व्यवस्था नगरेको गाउँपालिकाले व्यवसायीको पक्षमा काम गर्दै व्यवसायीलाई पोस्ने काम गरेको स्थानीयको आरोप छ ।
यता, घर जग्गाको सिफारिसमा समेत करको दर बढाएको पाइएको छ । मूल बाटोले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँ लिने गाउँपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । यसअघि पालिकाले सिफारिस शुल्क सात सय रुपैयाँ लिँदै आएको थियो ।
त्यस्तै सहायक बाटोले छोएको जग्गाको प्रति सिफारिस गर्दा दुई सय रुपैयाँ बढाइएको छ । यस अघि ६ सय रुपैयाँ राजश्व लिँदै आएपनि यस आर्थिक वर्षदेखि सिफारिस दस्तुर आठ सय लिन लागिएको हो ।
भित्री शाखा बाटोले छोएको जग्गाको प्रति सिफारिस ५०० बाट ७००, बजार क्षेत्रले छोएको जग्गाको प्रति सिफारिस एक हजार रुपैयाँबाट एक हजार पाँच सय रुपैयाँ पुर्याइएको छ । बाटोले नछोएको जग्गाको प्रति सिफारिस तीन सयबाट पाँच सय बनाइएको छ ।
यस्तै विद्युत मिटर जडानका लागि गरिने सिफारिसमा पनि शुल्क बढाइएको छ । कृषि व्यवसाय तथा सिँचाई प्रयोजनका लगि मिटर जडानमा एक सय ५० रुपैयाँलाई बढाउँदै दुई सय रुपैयाँ पुर्याइएको छ । आवासीय घरमा १ सय ५० बाट २ सय रुपैयाँ बनाइएको छ ।
Discussion about this post