काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले आवेदन फारम बुझाउन आह्वान गरेको छ । बोर्डले मंगलबार अपराह्न कक्षा १२ को नतिजा प्रकाशित गरेको थियो ।
उक्त नतिजामा सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन् ग्रेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुले दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
बोर्डले परीक्षाको समय तालिकासमेत सार्वजनिक गर्दै पूरक परीक्षा आगामी असोज ६ र ७ गते हुने जनाएको छ । पूरक परीक्षा दिन चाहने विद्यार्थीले भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६ सय रुपैयाँका दरले रकम बुझाई आवेदन फारम भर्नु पर्नेछ ।
बोर्डले दिएको समयभित्र आवेदन फारम भर्न छुटेकाहरुले भदौ २९ गतेभित्र विलम्ब शुल्कसहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरुमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाइसक्नु पर्ने सूचनामा भनिएको छ ।
यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जनाए । जसमध्ये एक विषयमा मात्र एनजी (नन् ग्रेड) आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन् ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।
Discussion about this post