काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इञ्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालेअनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढी रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए । नेपालमा इञ्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जव सेक्युरेटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरु विदेशिने गरेको उनको भनाइ छ ।
उनले तीन दिनभित्र शूल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले भने,‘आईओई र त्रिभुवन विश्वविद्यालयले यो चर्को शुल्क वृद्धि फिर्ता गरेन भने आईओई र त्रिविका पदाधिकारीलाई हामी हिसाब गर्छौं ।’
शुल्क वृद्धि तीन दिनभित्र नटुंगिएको खण्डमा नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको प्राङ्गणमा गएर शुल्कवृद्धिको आन्दोलन टुंग्याउने उनको चेतावनी छ ।
थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले देश विकासको कर्णाधार प्रविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी भएको बताए ।
Discussion about this post