झापा । भद्रपुर– ५ स्थित मेची आँखा उपचार केन्द्रको आफ्नै भवनमा अन्तरंग सेवा सञ्चालनमा आएको छ ।
बिर्तामोडस्थित मेची आँखा अस्पतालको करिब एक करोड रुपैयाँको लागतमा नवनिर्मित १५ शय्याको अन्तरंग विभागको एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो ।
सो अन्तरंग विभागको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, जग्गादाता तथा समाजसेवी सत्यनारायण सरिया र मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङले संयुक्तरुपमा रिबन काटेर गरेका थिए ।
मेची आँखा अस्पताल संघले आफ्नो सेवा विस्तारको क्रममा भद्रपुरमा २०७५ साल मंसीर ७ गतेदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । भद्रपुर निवासी स्व. जयनारायण र शारदादेवी सरियाले आँखा उपचार केन्द्र निर्माणका लागि एक बिगाह जमिन निःशुल्क दान दिएका थिए । सरिया परिवारले जग्गादान दिएपछि यहाँका आँखा रोगीलाई लक्षित गरी आँखा उपचार केन्द्र स्थापना गरिएको संघका निवर्तमान अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए ।
शुरुमा आँखाको मात्र परीक्षण गरिन्थ्यो । २०७७ असोजदेखि मोतिया बिन्दुको शल्यक्रिया सेवा पनि बिस्तार गरियो । हप्तामा एकदिन बुधबार शल्यक्रिया गरिने बिरामीलाई झापा उद्योग संघको भवनमा राख्नुपर्ने बाध्यता रहेको संघका निवर्तमान अध्यक्ष अधिकारीले बताए । उनले भने– ‘अन्तरंग विभाग सञ्चालनमा आएसँगै त्यो बाध्यता हटेको छ, अब हप्ता नभई छिट्टै चिकित्सकको दरबन्दी कायम गरी दैनिक शल्यक्रिया सेवा सञ्चालनमा ल्याउने तयारीमा छौं ।’ अन्तरंग विभागको भवन निर्माणमा ९८ लाख रुपैयाँ खर्च भएको छ ।
अन्तरंग विभागमा चाहिने आवश्यक स्वास्थ्य उपकरण र बेड जग्गादाता जयनारायण सरियाले उपलब्ध गराएको उनले बताए ।
मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको भवन उद्घाटन कार्यक्रममा जग्गादाता सत्यनारायण सरिया, ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाँई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्य माथि आँखा अस्पतालका डा. पुरुषोत्तम जोशी प्रकाश पारेका थिए ।
संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले मन्तव्य राखेका थिए । त्यस्तै आँखा उपचार केन्द्र परिसरमा रोटरी, रोट्रयाक्ट, इनर व्हील र इन्टरर्याक्ट क्लव अफ भद्रपुरले तीन दिने शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सञ्चालन गरेको रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
Discussion about this post