काठमाडौं । असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।
सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैँची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।
चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए । चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
Discussion about this post