काठमाडौं । चीनमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपालले मंगोलियासँग खेलिरहेको छ।
झेजियाङ विश्वविद्यालय क्रिकेट मैदानमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।
सन् २०२१ मा आईसीसीबाट एसोसिएट टोलीको मान्यता पाएको मंगोलियाले हालसम्म क्रिकेटका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । एसियाडमा पदक जित्ने लक्ष्य राखेको नेपालले समूह चरणमा मंगोलियाविरुद्ध जितसहित प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुने छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू मंगोलियाले पहिलो खेल खेल्न लागे पनि उसले सन् २०१४ देखिनै घरेलु संरचनाको क्रिकेटमा राम्रो लगानी गर्दै आएको छ । उसले विद्यालय क्रिकेटमासमेत लगानी गरेको छ । त्यसकारण नेपालले मंगोलियालाई कमजोर आकलन गर्ने छैन । प्रशिक्षक मोन्टी देसाइलेसमेत क्रिकेटले पदक दिलाउने सक्ने विश्वास गरेका छन् ।
समूह एको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने छ । समूह ए, बी र सीका शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटर फाइनलका लागि छनोट भएका थिए ।
एसियाडमै आज नेपालले अन्य ११ खेलमा पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको चौथौ दिनसम्म पदकको खाता खोल्न नसकेको नेपालले आज स्क्वास, ई–स्पोर्ट्स, टेबल टेनिस, थ्री बाई थ्री बास्केटबल, तेक्वान्दो, उसु, जुडो, पौडी, ह्याण्डबल, बक्सिङ र टेनिसमा प्रतिस्पर्धा गर्दैछ ।
Discussion about this post