विराटनगर/ सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या ९२ पुगेको छ । सशस्त्र प्रहरी गोताखोर उत्पादनमा अब्बल बन्दै गइरहेको छ ।
पानीभित्र गहिराइमा पुगेर खोज तथा उद्धार गर्ने उपकरणसहितको विशिष्ट तालिमप्राप्त जनशक्ति गोताखोर हो । यसअघि मुलुकभर सशस्त्र प्रहरीसँग ७४ जना गोताखोर थिए । पछिल्लो समय १८ जना थप भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीले गरेको पछिल्लो तालिमबाट गोताखोर थप भएका हुन् ।
नयाँ जनशक्ति थप भएसँगै सशस्त्रमा गोताखोरको संख्या ९२ पुगेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वय एवं सहकार्यमा भदौदेखि सञ्चालित पछिल्लो तालिममा सशस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका २ जना गरेर २० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । नेपाल प्रहरीमा यसअघि १ जना गोताखोर थिए । २ जना थप भएसँगै अब भने ३ जना पुगेका छन् ।
विपद्का बेला उद्धारलाई प्रभावकारी बनाउन मद्धत पुग्ने महत्वपूर्ण तालिमबाट नयाँ जनशक्ति उत्पादन भएसँगै नेपालमा गोताखोरको संख्या बढेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दक्ष जनशक्ति निर्माणमा प्रदेश सरकारसँग समन्वय र सहकार्य जारी रहने उनको भनाइ छ ।
सप्तकोसी नदी र फेवा तालमा अभ्यास गर्दै खोज तथा उद्धार सम्बन्धी शैद्धान्तिक तथा व्यवहारिक विषयमा प्रशिक्षण दिएर ३६ दिनसम्म तालिम सञ्चालन गरी थप जनशक्ति तयार गरिएको डीआईजी पोखरेलले बताए । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदीमा विपद्, खोज तथा उद्धार अभ्यास ९डेमो० प्रदर्शनसहित गत शुक्रबार गोताखोर तालिमको समापन गरिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा तालिमको समापन हुँदा प्रदेशका मन्त्री, स्थानीय सरकारका प्रमुखहरु, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्लास्थित सुरक्षा प्रमुखहरु तथा सरोकारवाला उपस्थित थिए ।
उक्त अवसरमा विपद्, खोज तथा उद्धारका क्रममा गोताखोरले प्रयोग गर्ने विभिन्न आधुनिक उपकरण प्रदर्शनी गरिएको थियो । विपद्का बेला विभिन्न विधिद्वारा गरिने खोज तथा उद्धारलाई अभ्यासमार्फत प्रस्तुत गरिएको थियो । उद्धारमा प्रयोग गरिने अत्याधुनिक उपकरणसहितका गोताखोर सशस्त्र प्रहरीसँग छन् ।
विभिन्न नदीनाला, तालतलैया, पोखरीजस्ता स्थानमा डुबेका तथा बेपत्ता भएकाहरुलाई गोताखोरको सहायताले बाहिर निकाल्ने गरिन्छ । विपद्मा पानीभित्र जीवित तथा मृतकहरुको खोज एवं उद्धारका लागि मुलुकका विभिन्न स्थानमा सशस्त्रको गोताखोर परिचालन गरिँदै आएको छ ।
तालिमप्राप्त गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित नदीको ७० फिट गहिराइ तथा स्थिर र निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १६० फिट गहिराइसम्म लगातार १ घण्टासम्म खोज तथा उद्धार गर्नसक्ने सशस्त्रका डीआईजी पोखरेलले बताए । ‘देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले गोताखोर जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘नेपालका ठूला नदीहरु सप्तकोसी, कर्णाली नारायणी, त्रिशूली, गण्डकीलगायत सेती नदीको गहिरो खोंचदेखि समुन्द्री सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको गोक्यो ताल, तालतलैया एवं पोखरीहरुमा गोताखोरले खोज तथा उद्धार गर्दै आएको छ ।’
पोखरेलका अनुसार हालसम्म मुलुकभरका २ सय ५८ घटनामा सशस्त्रका गोताखोरहरु खोज तथा उद्धारमा सहभागी भइसकेका छन् । गोताखोरले विभिन्न घटनामा परेकामध्ये ३२ जनाको जीवितै उद्धार गरेको र २ सय ५८ जनाको शव नदी, तालतलैया तथा पोखरीबाट बाहिर निकालेको उनले बताए ।
विपद्, खोज तथा उद्धार कार्यका लागि विशिष्टकृत मानिने तालिम दिएर सशस्त्रभित्र गोताखोर उत्पादन गर्न डीआईजी पोखरेलको महत्वपूर्ण योगदान रहेको छ । विक्रम संवत २०६९ सालमा पहिलोपटक बंगलादेशमा आयोजित गोताखोर तालिममा नेपालबाट २५ जना सशस्त्र प्रहरी सहभागी भएका थिए । तालिम लिएर फर्किएपछि उनीहरु नेपालका विभिन्न भागमा उद्धारमा सहभागी भइरहेका छन् ।
नेपालमा भने २०७६ सालदेखि सशस्त्रलाई गोताखोर तालिम दिन थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीले पहिलोपटक गोताखोर तालिममा २० जना सशस्त्रलाई सहभागी गराएको थियो ।
त्यसपछि गण्डकी प्रदेश सरकारको सहयोगमा २०७९ साल र गत वैशाखमा गरेर सशस्त्रको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले दुईपटक तालिमको आयोजना गरेर गोताखोर तयार गरेको थियो । कुरिनटारमा दुवैपटक तालिम आयोजना हुँदा हालका डीआईजी ९तत्कालीन एसएसपी० पोखरेल विपद् व्यवस्थापन तालिम केन्द्रको प्रमुख थिए । केन्द्रको प्रमुख एसएसपी हुन्छन् ।
अहिले सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुख हुँदा पनि पोखरेलले प्राथमिकतामा राखेर गोताखोर जनशक्ति तयार पारेका हुन् । मुलुकभित्र गोताखोर जनशक्ति उत्पादनका लागि सशस्त्र प्रहरीलाई दिइएको चारवटा तालिमध्ये तीनवटा डीआईजी पोखरेलकै अग्रसरतामा आयोजना गरिएको हो ।
Discussion about this post