निशा राई
धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कर्मचारीहरू प्रमोसनको अन्तर्वार्ता सुचारु नभए पछि पुनः आन्दोलित भएको छन् ।
आन्दोलनरत शिक्षक, कर्मचारीहरूले बिहीबार र्याली निकाल्दै प्रतिष्ठानको मूल गेट, डेनटल गेट र उपकुलपति कार्यालयमा ब्यानर राख्दै निषेधित क्षेत्र घोषणा समेत गरेका छन् ।
शिक्षक, कर्मचारीहरूले गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारु नभए पछि शिक्षक चिकित्सकहरू गत मङ्गलवार देखीनै आन्दोलित भएका थिए।
आन्दोलनरत शिक्षक, कर्मचारीहरूलाई बुधवार बैठक बोलाइए पनि कायम मुकाम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की बैठकमा नआएपछि बाध्य भएर शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्तरुपमा उपकुलपति विभागीय कार्की प्रमुख रहेको कार्डियोलोजी विभागमा समेत तालाबन्दी गरेर निषेध गरेको कर्मचारी कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए ।
उपकुलपति डा.कार्कीले कार्यकारिणी समिति बैठक बोलाएर सहभागी हुन आए मात्र प्रवेश गर्न दिइने शिक्षक कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।
हाल सम्म काम गरिरहेको तर अब जब सम्म अन्तरवार्ताको सूचना प्रकाशित हुँदैन तब सम्म काम नगर्ने ढकालले बताइन् । विपीको कार्यकारीहरूले समस्या समाधान गर्न सक्दैन भने राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने अध्यक्ष ढकालले बताइन् ।
उपकुलपति डा.कार्की सहित अन्य पदाधिकारीहरूलाई आइतबार सम्म का।स। बैठक राख्न समय दिइने र त्यस समयभित्र पनि समाधान गर्न पहल नभए सशक्त आन्दोलन गर्न बाध्य हुने शिक्षक र कर्मचारी समाजले जनाएको छ ।
धरै लामो समय भइसकेकोले आन्दोलनरत पक्षको माग न्यायोचित रहेको र पटक पटक सहमति पनि गरेकोले व्यवस्थापनले बढुवा प्रक्रियालाई सुचारु गर्नुको विकल्प नभएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.सूर्य सङ्ग्रौलाले बताए ।
विगतमा लोकसेवा आयोगको पत्रले गर्दा प्रक्रिया रोकिएको भएपनि आयोगसँग पटक पटक छलफल गरेर ग्रिन सिग्नल पाइसकेको हुनाले पनि कास बैठकबाट निर्णय गरेर अघि बढ्नुपर्ने र नसके राजीनामा दिनुपर्ने उनले बताए ।
गत कार्तिक २० गतेको आन्दोलनरत शिक्षक र कर्मचारीसँग छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गर्नुपर्ने थियो । तर हाल सम्म पनि सुचारु नभएपछि शिक्षक कर्मचारीहरू पुनः आन्दोलित भएका हुन् ।
Discussion about this post