विराटनगर । परापूर्व कालदेखि कुल देउताको रुपमा पूजा गरिँदै आएका ग्रामथानहरु अतिक्रमणका कारण जोखिममा परेको भन्दै संरक्षणका लागि पहल गरिएको छ ।
ग्रामथान भएका स्थानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदिवासी समुदायहरु त्यसको संरक्षणका लागि संगठित हुन थालेका छन् ।
अतिक्रमण नियन्त्रण गरी ग्रामथानहरुको संरक्षण र सम्बर्द्धन गर्ने साथै त्यस्ता क्षेत्रमा पूर्वाधारहरु बनाउन समेत पहल गरिने भएको छ । यी काम गर्नका लागि आदिवासी समुदायहरु संगठित बनेका हुन् ।
उनीहरुले समिति बनाएर अतिक्रमण रोक्ने, ग्रामथानहरुलाई व्यवस्थित बनाउने साथै तिनको ऐतिहासिक महत्व सर्वसाधारणलाई बुझाउने जस्ता काम गर्ने भएका छन् ।
मोरङ, सुनसरीलगायत जिल्लाका विभिन्न गाउँमा आदिवासी जनजाति समुदायको आस्थाका केन्द्रका रुपमा ग्रामथानहरु अवस्थित छन् ।
यसै क्रममा आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ ।
विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विरनारायण थान्दार, सचिवमा रामसून्दर राजवंशी, सहसचिवमा पन्नालाल राजवंशी र कोषाध्यक्षमा राजकुमार चौधरीलाई चयन गरेको छ ।
समिति सदस्यहरुमा पवन राजवंशी, रामप्रसाद राजवंशी, रामचरण चौधरी, हरेन्द्र साह, गयाराम माझि थारु, जगदिश राजवंशी चयन भएका छन् ।
समितिले विद्यालय, संघ–संस्था, व्यक्तिलगायतका विभिन्न क्षेत्रहरुबाट ग्रामथान अतिक्रमण भएको भन्दै त्यस्ता अतिक्रमित ग्रामथानहरुको संरक्षण गर्न पहलकदमी लिने अध्यक्ष राजवंशीले बताए ।
उनका अनुसार सुनसरी र मोरङका ग्रामथानहरुको संरक्षणका लागि क्रमशः संरक्षण समितिहरु बन्दै गइरहेका छन् ।
Discussion about this post