विराटनगर । मोरङको सुनवर्षीमा वडाध्यक्षलाई दुव्र्यवहार एवं हातपात गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–९ का वडाध्यक्ष धु्रवकुमार सिंहमाथि आइतबार साँझ दुर्व्यवहार एवं हातपात भएको हो । सडक स्तरोन्नतिका क्रममा विवाद हुँदा स्थानीय महिलाहरुले सिंहलाई अभद्र व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
वडा कार्यालयसँगको सहकार्यमा बिर्ता–विश्वकर्मा–कुडेली सडक स्तरोन्नतिको काम अघि बढाइएपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले अवरोध गर्न थालेपछि वडाध्यक्षसँग विवाद भएको थियो । सडक अतिक्रमण गरेर स्थानीयले बनाएका घर टहरा भत्काउन थालिएपछि ५०/६० जना महिलाले अवरोध गरेका थिए ।
प्रहरीका अनुसार सार्वजनिक सडक अतिक्रमण गरेर वनबासी ऋषिदेवले बनाएको टहरा भत्काउने क्रममा अवरोध भएको हो । त्यस क्रममा महिलाहरुको भीडले वडाध्यक्षलाई हातपात एवं दुर्व्यवहार गरेको डीएसपी बस्नेतले बताए ।
उनका अनुसार वडाध्यक्षलाई अभद्र व्यवहार गर्ने ३५ वर्षीया निर्मला ऋषिदेव र अर्की ६२ वर्षीया निर्मला ऋषिदेवलाई पक्राउ गरिएको हो । निर्मलाद्वयलाई सम्झाइबुझाइ गरेर छाड्न खोजिएको थियो । तर, विवाद समाधान नभएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेली पुर्याएर राखिएको छ ।
उनीहरुलाई वडाध्यक्षसँग सहमति गराएर छाड्ने कि मुद्दा चलाउनेभन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन । उनीहरुविरुद्ध वडाध्यक्षले पनि जाहेरी दिएका छैनन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post