काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानले ‘१० भाइ’को हरिबिजोग छ । ओलीले ‘१० भाइ’लाई पार्टी, संसदीय मोर्चादेखि सरकार कतै पनि राम्रो अवसर नदिई पेलेरै राखेका छन् । विगतमा ओलीको गलत कार्यशैलीको कडा आलोचना एवं विरोध गरेकै कारण उनीहरू अवसरबाट वञ्चित हुँदै आएका हुन् ।
एमालेभित्र १० भाइका रूपमा रहेको समूहमा डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ । १० भाइका रूपमा चिनिने यी नेताहरू तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल समूहका नेता थिए ।
यी नेताले नेकपामा रहेका बेला ओलीको गलत कार्यशैलीका विरुद्धमा कडा आलोचना र विरोध गर्दै आएका थिए । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एक समूहमा उभिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा उनीहरूले विरोध गर्दै आएका थिए ।
सर्वोच्च अदालतले ओलीको संसद् विघटनलाई असंवैधानिक कदमसमेत भएको फैसला गरेको थियो । झन्डै दुई तिहाइ बहुमतको सरकार ओलीकै कारण ढलेको थियो । ओलीको कार्यशैलीको विरोध गर्दै आए पनि ओलीले यी नेताको कुरा सुन्न चाहेनन् ।
अदालतकै फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतियो । पछि एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । तर, नेपाल समूहमा रहेका यी नेताहरूले भने विद्रोह गर्ने आँट गर्न सकेनन् । उनीहरू एमाले एकताकै पक्षमा उभिए । ओली नेतृत्वकै एमालेमा बस्न बाध्य भए । तर, ओली भने उनीहरूलाई कुनै अवसर दिन चाहँदैनन् । आफ्नो विरोध गर्नेलाई ओलीले छानीछानी सडकमा फाल्ने काम गर्दै आएका छन् ।
पार्टीको १०औं महाधिवेशन चितवनको सौराहमा हुँदैगर्दा ती नेतालाई मत नदिन ओलीले ‘फर्मान’ नै जारी गरेका थिए । कोही धोखाले पार्टीको जिम्मेवारीमा आए भने अधिकांश नेतालाई पार्टीको जिम्मेवारीबाट हटाउने काम ओलीले गरे ।
४ मंसिर २०७९ मा भएको आमनिर्वाचनमा ओलीले कतिपय नेतालाई टिकट नै दिएनन् । ओलीले रावल, भुसालहरूलाई टिकट दिएनन् । भुसालले विद्रोह गर्दै उम्मेदवारी दिए । तर, पराजित भए । पछि उनी माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिवको जिम्मेवारी पाउँदै पार्टी निर्माणमा लागे ।
रावलले टिकटका ’मा ओलीसँग फोनमा कुरा गरे । रावलले ‘कमरेड मेरो टिकट के हुन्छ ?’ भन्दा ओलीले ‘भरे रेडियो नेपाल सुन्नुस्’ भन्ने जवाफ दिएका थिए । रावलले टिकट पाएनन्, घनश्यामजस्तै विद्रोह गर्ने आँट पनि गर्न सकेनन् । पार्टीको कुनै जिम्मेवारीमा समेत नरहेका रावल पार्टीको कार्यक्रममा समेत देखिँदैनन् । नेपाल समूहमा हुँदा रावलको सल्लाह नेपालका लागि अनिर्वायजस्तै थियो । अहिले जिम्मेवारीविहीन रावल कहिले काहीँ सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण भएको अनुभूति हुन्छ ।
रावलले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, उनलाई उम्मेदवारी नै नदिन ओलीले ह्वीप जारी गरे । उम्मेदवारी दिएपछि फिर्ता लिन निर्देशन दिइरहेका थिए । तर, ओलीको निर्देशन रावलले सुन्ने कुरै भएन । त्यसपछि रावलको हकमा ओली झन कडा रूपमा प्रस्तुत भए ।
अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे पार्टीको उपाध्यक्ष छन् । तर, पार्टीको बैठकबाहेक अन्य काममा उनीहरूको सल्लाह ओलीका लागि आवश्यक हुँदैन । यिनीहरू सल्लाह दिन पनि जाँदैनन् र ओलीले लिन आवश्यक पनि ठान्दैनन् ।
गोकर्ण विष्ट, योगेश भट्टराई पार्टीमा सचिवमै दोहिरिए । तर, कतिपय नेताहरू ओलीनिकट भएकै कारण सचिवबाट बढुवा हुँदै उपमहासचिव भए । नवौं महाधिवेशनबाट सचिव भएका विष्ट, भट्टराईसँगैका प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसँगै १०औं महाधिवेशनबाट उपमहासचिवमा बढुवा भए । महासचिवमा पराजित शंकर पोखरेल सौराह महाधिवेशनबाट निर्विरोध महासचिव भए । अरू नेताहरू धोकाले केन्द्रीय कमिटीमा आए भने कोही बाहिर फालिए ।
१० भाइमध्येका विष्ट, भट्टराई, भीम आचार्य र रघुजी पन्त सांसद छन् । पन्त सामानुपातिक सांसद हुन् भने अरू तीन जना निर्वाचित सांसद हुन् । अधिकांशले टिकट नै पाएनन् । तीन जनाले बल्लतल्ल टिकट पाएर निर्वाचन जिते भने पन्तले सामानुपातिक कोटाबाट संसद्मा छिर्ने मौका पाए । पछिल्लो समयमा यी सांसद ओलीनिकटका अन्य नेताहरूभन्दा बढी ओलीको पक्षमा खरो रूपमा उत्रिँदै आएका छन् ।
ओलीको ‘रक्षाकवच’जस्तै उनको पक्षमा यी नेताहरू उभिए पनि उनीहरूले कुनै असर भने पाउँदैनन् । ओलीलाई गिरीबन्धु टी–इस्टेट जग्गा घोटला प्रकरणमा जोडेर विरोध गर्नेहरूलाई उनीहरूले सडकदेखि सदनसम्म कडा रूपमा जवाफ फर्काएका थिए । ओलीका विश्वास पात्र मानिएका भन्दा बढी यी चार भाइले खरो प्रतिवाद गरे ।
यसबीचमा प्रचण्ड नेतृत्वको सरकारमा एमाले दुईपटक सहभागी भयो । अहिले ओलीले कांग्रेसको समर्थनमा सरकारको नेतृत्व आफैं गर्दै छन् । तर, यी १० भाइमध्येका कुनै पनि नेताले ‘मन्त्री’ हुने अवसर पाएनन् । ओली नेतृत्वको सरकारमा भट्टराई सहभागी हुने र सञ्चारमन्त्री बन्ने चर्चा थियो, तर रातारात उनको नाम काटियो ।
आचार्य पनि मन्त्री हुने दौडधुपमा थिए, तर बन्न सकेनन् । मन्त्री नभए पनि यी नेताहरू एमाले सहभागी प्रत्येक सरकारको बचाउमा उत्रिँदै आएका छन् । ओली पार्टी नेतृत्वमा रहँदासम्म यी १० भाइको हरिबिजोग भइरहने चर्चा एमालेमा मात्रै नभई एकीकृत समाजवादी, माओवादी केन्द्रमा समेत हुने गरेको छ ।
Discussion about this post