इलाम : पर्यटकिय जिल्ला इलाममा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ । इलाम नगरपालिका सात स्थित वसपार्कमा सूचना केन्द्रको स्थापना गरिएको हो ।
इलाम नगरपालिकाको सहयोगमा नगरकै पर्यटन प्रवद्र्धन समिति इलामले सूचना केन्द्रको स्थापना गरेको हो । विश्व वातावरण दिवशको अवसरमा एक कार्यक्रम विच उद्घाटन गरिएको छ । इलाम नगरपालिकाका मेयर केदार थापाले सो सूचना केन्द्रको उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि बोल्दै उनले इलाम नगरपालिका मात्र नभएर इलाम जिल्ला नै पर्यटकिय क्षेत्रमा अगाडी रहेको बताउँदै अन्य पालिकासँग पनि मिलेर काम गर्न इलाम नगरपालिकाले चाहेको बताए । उनले इलाम नगरपालिका बाहिर पनि धेरै पर्यटकिय स्थलहरु रहेको बताउँदै अन्य क्षेत्रसँग समेत मिलेर काम गर्दा सबैलाई फाइदा मिल्ने बताए । प्रमुख थापाले जिल्लामा बिभिन्न क्षेत्रमा लगानी गर्न देशका ठुला ब्यापारीहरुसँग समेत कुरा भएको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पर्यटन क्षेत्रमा काम गर्ने र यातायात चालकहरुलाई समेत पर्यटन सम्वन्धी प्रशिक्षण दिनु पर्ने धारणा राखिन् ।
कार्यक्रममा लगानी बोर्ड कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले इलाम भएर ताप्लेजुङ, सन्दकपुर लगायत अन्य क्षेत्र जाने गरेको भएपनि इलाममा पर्यटक नरोकिने गरेको बताए । उनले इलाम भन्ने बित्तिकै श्रीअन्तु र कन्याम मात्र आएर पर्यटक फिर्ने गरेको भन्दै पर्यटकलाई अब इलाम सदरमुकामसम्म समेत जोड्नु पर्ने बताए ।
पर्यटन प्रवद्र्धन समितिले जिल्लाका पर्यटकिय स्थलहरु समेटिएको प्रचार सामाग्री समेत निर्माण गरेको समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिए ।
इलाम बसपार्कसँगै रहेको सूचना केन्द्रबाट जिल्लाका पर्यटकिय स्थलहरुको जानकारी समेत गराइने छ ।
सूचना केन्द्रको स्थपना पछि यहाँ आएका पर्यटकहरुलाई बिभिन्न गन्तब्यमा पुग्न सहज हुने अपेक्षा लिइएको छ ।
Discussion about this post