काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरूलाई राहतका लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली काङ्ग्रेसले सांसदहरूको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘राहतको लागि फन्डको आह्वान गरेका छौं । सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ । अरु दाताहरूबाट पनि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ । साथै, सांसदहरूको पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसले निर्णय नै गरेको छ । १५ दिनको तलब दिने भनेको छ । यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेका छौँ।’
यस्तै, उनले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरू पनि सम्पन्न भएको बताए ।
उनले भने, ‘उद्धारको काम लगभग सकाएका छौ । तर, बीपी राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन् । ती गाडीहरूलाई उद्धार गर्ने पहिलो काम रहेको छ । यो काम सकेपछि उद्धारका काम सक्छौँ । त्यसपछि मृतकहरूका परिवारलाई दिने क्षतिपूर्तिको कुरामा पनि सरकारले निर्णय गरिसकेको छ । यसपछि राहत र पुनःस्थापनाको कुरा छ । पुनःस्थापनाको सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।’
यसको साथै, उनले अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।
उनले भने, ‘अर्को भनेको पुनःनिर्माणको कुरा छ । यसको सन्दर्भमा प्रारम्भिक अनुमान पनि गरेका छौ । करिब २० देखि २५ अर्ब पैसा पुनःनिर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा बीपी राजमार्गमा लाग्छ । अहिले बाटो खोल्नको लागि मात्र काम गरिरहेका छौँ । अहिलेलाई बीपी राजमार्गबाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छौ ।’
यातायातको विषयमा पनि चाडपर्व केन्द्रीत बाटोलाई निर्माण गर्ने बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाइ छ ।
बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरूमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरूमा परेका असर र सोही कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो ।
Discussion about this post