विराटनगर : मोरङमा खोलाले बगाएर र पानीमा डुबेर तीनजनाको मृत्युु भएको छ । जिल्लाको केराबारी गाउँपालिका ९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईंको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको छ ।
खोलाले बगाएर मृत्यु भएको अवस्थामा बिहीबार बिहान ११ः३० बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
यसैगरी खोलामा डुबेर रतुवामाई नगरपालिका १० का ३८ वर्षीय बखतबहादुर मगरको मृत्यु भएको छ । कट्नु खोलामा डुबिरहेको अवस्थामा बिहान ९ः३० बजेतिर शव फेला परेको थियो ।
प्रहरीका अनुसार उनी बुधबार बेलुकादेखि बेपत्ता थिए । डुबेर मृत्यु भएको अवस्थामा आज शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
यसैबीच, रतुवामाई नगरपालिका २ मा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । अनन्त शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छिमेकी विमल राजवंशीको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो १२ः४० बजेतिर सन्ध्याको शव फेला परेको थियो ।
घाइते अवस्थामा उद्दार गरेर उपचारका लागि नगर अस्पताल झुर्किया लैजाने क्रममा बाटोमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनसाथ दिउँसो १ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ ।
प्रहरीले तीनवटै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post