इटहरी : नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैँको संघारमा छौँ, हामी । दसैँ सुरु भएसँगै विदेश गएका नेपाली स्वदेश फर्किँदै छन् भने स्वदेशको सहरमा बस्दै आएकाहरू दसैँ मनाउन आफ्नो घर जाने क्रम छ ।
वर्ष दिनमा एकपटक आउने यो पर्व उत्साहका साथ मनाउने गरिन्छ । यस्तै दसैँको समयमा अरू बेला भन्दा फुर्सदिला हुने नेताहरू पनि दसैँ मनाउने तयारीमा छन् ।
यसैबीच सुनसरी जिल्लाबाट नेकपा एमालेको केन्द्रीयस्तरमै पहुँच राख्न सक्ने केही प्रतिनिधिमूलक पात्रहरूलाई प्रदेश खबरले दसैँ विशेष श्रृङ्खलामा के छ योजना भनेर सोधेको छ ।
रेवतीरमण भण्डारी
इटहरी निवासी भण्डारी सुनसरीको क्षेत्र नं. २ (क)बाट कोशी प्रदेशसभा सदस्य छन् । उनी एमालेका प्रमुख सचेतकसमेत हुन् । यसअघि एमाले सुनसरीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी पारिवारिक रूपमै दसैँ मनाउने बताउँछन् ।
यस वर्षको दसैँमा सधैँ जसरी नै पार्टीका विभिन्न तहका कमिटीहरूले आयोजना गरेको शुभकामना कार्यक्रममा सरिक हुने उनले बताए । ठूलाबडाको हातबाट टीका लगाउने र आफूले पनि अरूलाई टीका लगाइदिने उनी बताउँछन् ।
उनले बाल्यकालको दसैँ उत्साहजनक हुने गरेको भएपनि हाल पारिवारिक जिम्मेवारी लगायतका कारण दसैँको उत्साह कम हुँदै गएकोसमेत बताए ।
‘बाल्यकालमा दसैँमा मामल जाने, पिङ खेल्ने, रमाइलोका लागि डाइस खेल्ने तथा दसैँ कहिले आउँछ भनेर तीव्र प्रतीक्षा हुन्थ्यो,’ भण्डारीले भने, ‘तर अहिले त्यस्तो उत्साह नै छैन ।’ उनले देशमा आर्थिक संकटका कारण समस्या भइरहेको समयमा आफ्नो क्षमताअनुसार मात्रै खर्च गर्नसमेत सुझाए ।
दसैँमा पारिवारिक भेटघाट गर्दै, आपसी सामाजिक सद्भाव बढाउँदै, कामहरूसमेत छुट्टी हुने भएकाले आराम गरेर यो पर्व मनाउनुपर्ने बताए । साथै, चाडपर्व मनाउने तथा रमाइलोको नाममा जुवा, तास खेल्ने आदि नगर्न समेत उनले सुझाए ।
लक्ष्मी गौतम
गौतम नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । इटहरी उपमहानगरपालिकाकी पूर्व उपप्रमुखसमेत रहेकी उनी यो दसैँमा परिवार र कार्यकर्ताहरूसँग मनाउने योजना रहेको बताउँछिन् ।
इटहरीमै आफ्नो सासू, ससुरा र बुबाआमाको हातबाट टीका लगाएर पारिवारिक भेटघाटमा सरिक हुने उनको योजना छ । बाल्यकाल र अहिलेको दसैँ फरक रहेको उनले स्मरण गरिन् ।
‘बाल्यकालको दसैँमा नयाँ लुगाको रूपमा अभिभावकले स्कुल ड्रेस सिलाइदिने र सोही लुगा लगाएर टीका थाप्न आफन्त र मान्यजनको जाइन्थ्यो, त्यो सम्झदाँ कथाजस्तो लाग्छ,’ उनले भनिन् ।
नौरथा लागेपछि गाउँलेले बाबियोको पिङ लगाउने र आफूहरू खेल्ने तथा घर वरिपरी एउटा झारसमेत नराखी सफा गर्दा दसैँ आएजस्तो लाग्ने गरेको गौतम बताउँछिन् । उमेर छिप्पिदैँ जाँदा आमा र काकीहरूलाई घर लिपपोत तथा सरसफाइमा सघाउने गरेकोसमेत उनले स्मरण गरिन् ।
‘मावल गएर दक्षिणास्वरूप पाएको पैसा गोजीमा हालेर हिँड्दा आउने आवाजले दसैँ रमाइलो हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर अहिले भने पारिवारिक जिम्मेवारी, महँगी आदि कारणले पहिलाजस्तो दसैँको उत्साह छैन ।’
‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई ध्यानमा राख्दै आफ्नो क्षमताअनुसार मात्र खर्च गर्नुपर्ने उनले सुझाइन् । वैमनस्य भावलाई त्यागेर आपसी सद्भावको रूपमा दसैँलाई मनाउन उनको सुझाव छ ।
रुक्मिणी कोइराला
कोइराला राष्ट्रिय सभा सदस्य हुन् । इटहरी २ निवासी उनी मजदुर नेता स्व. ओम कोइरालाकी धर्मपत्नी हुन् ।
उनले सामान्य किसिमबाटै दसैँ मनाउने योजनामा रहेको बताइन् । साथै, कार्यकर्ता र पारिवारिक भेटघाटलाई पनि निरन्तरता दिने उनको भनाइ छ ।
‘बाढी र पहिरोको कारण देश नै शोकमा भएकाले त्यति उत्साह छैन,’ उनले भनिन्, ‘यो विपत्तिमा सबैले एकअर्कामा साथ, सहयोग गर्न जरूरी छ ।’
दसैँमासमेत पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेकाले यात्रा गर्दा एकदमै सचेत हुनुपर्ने उनले सुझाइन् ।
निर्मल बराल
बराल नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पार्टी सुनसरी इञ्चार्जसमेत रहेका उनी दसैँलाई धार्मिक पर्व मान्दैनन् । आफू दसैँलाई सांस्कृतिक पक्ष मान्ने र संस्कार संस्कृतिलाई जोगाउँदै दसैँ मनाउने योजनामा रहेको उनले बताए ।
‘फुर्सदको समयमा पुस्तक पढ्ने र नयाँ फिल्मसमेत हेर्ने योजना छ,’ उनले भने, ‘बाल्यकालमा सामाजिक, सांस्कृतिक माहोलमा दसैँ मनाउने गरिन्थ्यो ।’ आफू अदृश्य शक्तिमा भन्दा पनि वैज्ञानिक र पूर्वीय संस्कृतिलाई बढी मान्नेसमेत उनले जोड दिए ।
दसैँ कृषि युगबाट सुरु भएको र यसको नेपाली समाजमा धेरै नै प्रभाव रहेकोले रूढिवादी र अन्ध विश्वासलाई छाडेर सांस्कृतिक पक्षको जगेर्ना गर्दै दसैँ मनाउन उनको सुझाव छ ।
मुक्साहाङ्ग मेन्याङ्वो
मेन्याङ्वो माओबादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी गत निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत थिए । दसैँमा आफ्नो क्षेत्रका जनता तथा कार्यकर्तासँग दसैँ मनाउने तयारीमा रहेको उनले सुनाए ।
‘शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै आपसी सद्भाव फैल्याउँदै दसैँ मनाउने योजना छ,’ उनी भन्छन् ।
बाल्यकालमा नयाँ कपडा लगाउन, नयाँ कुरा खान र खेल्नका निम्ति पनि स्वतन्त्र हुँदा छुट्टै किसिमको रमाइलो हुने गरेको उनको स्मरण छ । तर, अहिले भने आम जनतासँग राजनीतिक भेटघाट गरेर दसैँ मनाउँदै आएको उनले बताए । ‘फजुल खर्च नगरी सांस्कृतिक रूपमा, दसैँ मनाउनुपर्छ,’ उनले भने ।
शिव डाँगी
डाँगी माओबादी केन्द्र कोशी प्रदेशका उपाध्यक्ष छन् । उनले सुनसरी, मोरङ र झापाका ज्येष्ठ नागरिक तथा ऊर्जा मिल्ने व्यक्तिहरूसँग भेटघाट गरी दसैँ मनाउने योजनामा रहेको बताए ।
‘म बुबाआमासँग रहेकाले पारिवारिक भेटघाटमा आउने आफन्तहरूसगँ भलाकुसारी गर्दै दसैँ मनाउने तयारीमा छु,’ उनले भने, ‘बाल्यकालको दसैँ र अहिलेको दसैँमा आकाश जमिनको फरक पाइन्छ ।’
बाल्यकालमा मावल जान इच्छुक हुने, दसैँमा काट्ने खसीको कान खान पाउँदा छुट्टै मज्जा हुने र स्वतन्त्र भएर खेल्न, रमाउन पाइने हुँदा स्मरणीय रहेको उनको भनाइ छ ।
‘खसीको कान खानका लागि धेरै घाँस काट्नुपर्छ भनेर बुबाआमाले भन्नुहुन्थ्यो । म दाजुहरूसँग दसैँ आउनुभन्दा एक महिना अघिदेखि नै घाँस काट्ने प्रतियोगितामा लाग्थेँ,’ उनले भने, ‘एक महिना अघिदेखि नै दसैँमा नयाँ लुगा लाउन पाइन्छ भनेर उत्साहित भइन्थ्यो ।’
उनले अहिलेको दसैँमा नयाँ लुगा, खानेकुराप्रतिको मोह नरहने भएकाले त्यति उत्साह नहुनेसमेत सुनाए । साथै, कतिपयले दसैँमा देखासिखी गरी फजुल खर्च गर्ने र ऋण थप्ने कार्य गर्नाले आफूसँग जे छ, त्यसैमा खुशी हुनुपर्ने उनले सुझाए ।
दसैँमा परिवार र आफन्तसँग सुख दुःख साट्ने, मीठो मसिनो खाने हार्दिकता र सद्भावपूर्ण तवरले मनाउन उनले सुझाव दिए ।
Discussion about this post